पोखरा । राष्ट्रिय युवा सङ्घ नेपालको पोखरामा हुने १० औँ महाधिवेशनको तयारी पुरा भएको छ । जेठ ९ गते पोखराको अम्मरसिंह चौरमा आयोजना हुने उद्‌घाटन समारोह र पोखरा सभागृह हलमा आयोजन हुने बन्द सत्रको लागि गर्नुपर्ने सबै तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । महाधिवेशनको प्रचार प्रसारका लागि बिहीबार मार्च पास आयोजना गरियो । राष्ट्रिय युवा सङ्घ नेपाल कास्की शाखाको आयोजनामा भएको मार्च पास पोखराको मानवअधिकारीचोकबाट सुरु भएको मार्चमास विपीचोक न्युरोड हुँदै पोखरा सभागृहमा पुगेर समापन भएको थियो ।

मार्च पासको समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज राजीव पहारीले युवा सङ्घ नेपाल गतिशील जुजारू सङ्घटन भएको बताउँदै स्थापना कालदेखिनै राष्ट्रियता लोकतन्त्र जनजिविका र युवाका सरोकारका मुद्दाहरूलाई स्थापित र कार्यान्वयन गर्नको निमित्त महत्वपूर्ण भूमिका खेलको बताए । राष्ट्रिय युवा सङ्घ नेपालका पूर्व अध्यक्ष समेत रहेका उनले विगतमा वाइसियलको ज्यादतीलाई नियन्त्रण गर्ने सङ्गठनको रुपमा युवा सङ्घ स्थापित भएको समेत स्मरण गरे  । प्रतिगामी तत्त्वहरू चलमलाउने खोजेकोले यिनीहरूलाई कहिल्यै उठ्न नसक्ने गरेर नामेट पार्नको निमित्त पोखराको महाधिवेशनबाट सन्देश दिनुपर्ने उनको भनाइ थियो ।

नेकपा एमालेको केन्द्रिय सदस्य समेत रहेका इन्चार्ज पहारीले महाधिवेशनको उद्‌घाटन सत्रमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, मोर्चा फाँट प्रमुख भानुभक्त ढकाल, युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेत लगायत सहभागी बन्ने जानकारी गराए ।

उद्घाटन समारोहमा समाजका विभिन्न विषयमा व्यापक युवाहरूको उपस्थिति गराउने गरी तयारी गर्न निर्देशन समेत उनले दिए । पोखरामा पहिलोपटक हुन लागेको यो महाधिवेशनबाट नयाँ नेतृत्व समेत आउने भएकोले महाधिवेशन ११ गतेभित्र सिध्याउने गरी भूमिका खेल्न आग्रह गरे । युवा आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनका निमित्त नयाँ सन्देश दिने महाधिवेशनको पूर्व सन्ध्यामा आयोजना गरिएको मार्चपास सामान्य ‘वामअप’ मात्र भएको तथा यो कास्टिङ मात्र भएकोले रियल पिक्चर शुक्रबार हुने कार्यक्रममा देखिने दावी उनले गरे ।

पोखराको मानवअधिकारचोकबाट सुरु भएको मार्चमास विपीचोक, न्युरोड हुँदै पोखरा सभागृहमा पुगेर समापन समारोहमा परिणत भएको थियो । राष्ट्रिय युवा सङ्घ नेपाल कास्कीका अध्यक्ष उमेश गुरुङको अध्यक्षता तथा सचिव हिमाल गुरुङको सञ्चालनमा समापन समारोह भएको थियो । कार्यक्रममा नेकमा एमाले कास्कीका सचिव दर्शन लामा र नवीन गुरुङले गीत गाउँदै उपस्थित युवामा उत्साह थपेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0