पोखरा । लेखक डा. खगराज बरालको उपन्यास ‘प्रतिरूप’ माथि पोखरामा परिचर्चा गरिएको छ । सोमबार पुछारसिटे अभियान पोखराले हिमालयन रिडर्स कर्नरमा कार्यक्रम आयोजना गरेर कृतिमाथिको परिचर्चा गरेको हो ।  धैरैं मात्रामा गैरआख्यानमा कलम चलाउने बरालको ‘प्रतिरूप’ दोस्रो उपन्यास हो । यसअघि उनले ‘स्यानी’ उपन्यास प्रकाशित गरेका थिए ।  ‘प्रतिरूप’ सहित हालसम्म बरालका २३ वटा कृति प्रकाशित भैसकेका छन् ।

उपन्यासको समीक्षा गर्दै पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले उपन्यासमा लेखकले कौतुहलता जगाउने सन्दर्भ विकास गरेर समापन गर्दा उपन्यासको स्तर बढेको बताए । यथार्थवादी उपन्यास लेख्दा निकै कठिनाइ हुने गरेपनि लेखकको चातुर्यताका कारण यसको ओझ बढेको उल्लेख गरे ।

विद्यालयको शिक्षक हुँदै शिक्षा सचिवसम्मको भूमिका सफलतापूर्वक वहन गर्दै सेवा निवृत्त भएका बराल जीवनको यस कालखण्डमा थप ऊर्जावान् रही साहित्य सिर्जनामा क्रियाशील हुँदै गर्दा यो कृति तयार भएको हो । यस उपन्यासले नेपाली तथा छिमेकी मुलुक भारतीय समाजका सामाजिक, धार्मिक तथा शैक्षिक विषय तथा प्रवृत्तिलाई समेटेर उपन्यासको रूपमा अभिव्यक्त गरेको छ । लेखक बरालले पुस्तकमा विभिन्न पात्रहरू नवीन, निर्मल, काली, शम्भु, अस्मिता, परमानन्द, शङ्कर आदिलाई खडा गरेर तिनको खुसी, चिन्ता, चासो, व्यक्तित्व, चरित्रको गहिरो र सूक्ष्म चित्रण गरेका छन् ।

परिचर्चा कार्यक्रममा बोल्दै उपन्यासका लेखक डा. खगराज बरालले प्रेमको सन्दर्भमा उठान गरिएका विषयवस्तु कतिलाई चित्त नबुझ्न सक्ने भएपनि प्रेमको परिभाषालाई बुझाउन खोजेको बताए । तराईको विवाह प्रक्रियाको छनकलाई लेखकले परमानन्द नामको पात्र खडा गरेर दिएका छन् ।

लेखक बरालले उपन्यास साह्रै सावधानीपूर्वक लेखेको बताए । लेखेपछि ७ जनालाई पढ्न दिएको बताएका उनले कृतिमा समावेश विषयवस्तु सचेततापूर्वक राखिएको खुलाए ।

लेखक बरालको उपन्यास ‘प्रतिरूप’ एघार भागमा विभाजन गरिएको छ । उपन्यास समाजका साना-मसिना घटना-परिघटनालाई जीवनसँग जोडेर बुनिएको छ । उपन्यास पढ्दै जाँदा पाठकलाई कौतुहल बनाइरहन्छ । अन्त्यसम्म नपुगी उपन्यासले दिन खोजेको सन्देश थाहा नै हुँदैन ।

पुछारसिटे अभियान पोखराका अभियन्ता बसन्त विनोदको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा.रामनाथ ओझा, अभियान्ताहरु सुरज उपाध्याय, अमृत क्षेत्री लगायतले बोलेका थिए । २ सय ३८ पृष्ठको उपन्यासमा तराई र पहाडको परिवेशलाई जीवन्त उतार्ने प्रयास गरिएको छ । उपन्यासकार बरालको जन्मघर पोखरा महानगरपालिकाको वडा नं.२२ पुम्दीभुम्दी हो । उनी हाल लोकन्थली, भक्तपुरमा बसोबास गर्छन् । उपन्यासलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0