पोखरा । नेपाल पुलिस क्लबलाई हराउँदै इरानी टोलीले पोखरामा भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
लायन्स इनटरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले उपाधि जितेको हो ।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा गर्यो । इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको हो । उपाधि जितेको इरानी टोलीले ४ लाख ४४ हजार ४४४ हात पार्यो । उपविजेता बनेको २ लाख ४४ हजार ४४४ मा चित्त बुझायो ।
यसअघि सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको थियो । पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपीएफलाई सुम्पिएको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेट २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो । तेस्रो हुने आर्मीले १ लाख ४४ हजार ४४४ प्राप्त गर्यो ।
