पोखरा। पोखराकी सुस्मिता थापा मगरले मुआथाईको व्यवसायिक प्रो–फाइट (WBC) को उपाधि जितेकी छन् । काठमाण्डौमा बुढानीलकण्ठ नगर पालिकाको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फको उपाधि जितेकी हुन् । उनले नेपालकै उत्कृष्ट महिला प्रोपाइटर रोजिना विष्टलाई पाँच राउन्डमा नै उत्कृष्ट अङ्क हात पार्दै हराउन सफल भइन् । रोजिना नेपाली मुआथाई प्रोफाइटमा लामो अनुभव सँगालेकी खेलाडी हुन् ।
उपाधिसँगै नगद रु ५० हजार र आकर्षक बेल्ट समेत हात पारेको उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए । आईटीएफ तेक्वान्दोकी खेलाडी समेत रहेकी उनी हाल पोखरा साक–यान्त मुआथाई प्रशिक्षणमा प्रशिक्षणरत रहेकी छन् । सुस्मिताले जितेको यो प्रो फाइट उपाधि नेपाली व्यवसायिक मुआथाई फाइटकै उच्च समेत रहेको प्रशिक्षक क्षेत्रीले बताए ।
क्षेत्रीले भने–“मलाई लागेको थिएन सुस्मिताले यो फाइटमा यस्तो उत्कृष्ट प्रदर्शन गर्छिन् भनेर । तर खेलमा उनले आफ्नो शत प्रतिशत दिइन् । उनले फाइट मात्रै जितेकी थिइनन् । पाँच राउन्डको फाइटमा पाँचै राउन्डमा नै विपक्षी विरुद्ध हावी रहिन् ।”
गण्डकी विश्वविद्यालयमा खेलकुद विषयमा स्नातक तहमा अध्ययनरत सुस्मिता पोखरा स्पोर्ट्स अवार्डमा समेत उपाधि जितेकी थिइन् । उनले अब यही शनिबार एक प्रो फाइटमा सहभागिता जनाउने तयारीमा रहेको प्रशिक्षक क्षेत्रीले जानकारी दिए ।
