पोखरा । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेसनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बनेको छ । वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण भएपछि चैत्र २९ गतेदेखि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा दैनिक रुपमा कथा वाचन शुरु भएको हो । महायज्ञमा हाल अन्तराष्ट्रिय कथा वाचक देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार आगामी दिनमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रिय वक्ताहरूको सहभागिता रहने छ। महायज्ञमा सोमबार देवी प्रतिभाले कथा वाचन गर्ने क्रममा भगवान कृष्णको जन्म उत्सव मनाई सम्पूर्णलालाई फूल मिठाई मार्फत मनोरञ्जन दिलाइएको थियो । भगवान कृष्णको कथा वाचनका क्रममा १० औ दिन यसरीनै भगवान कृष्णको जन्म उत्सव मनाइने गरिएको छ । महायज्ञमा देवी प्रतिभाको सोमबार कथा वाचनको १० औं दिन चलेको छ ।
महायज्ञमा साधु–सन्त, भक्तजन, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको सक्रिय सहभागिताले महायज्ञ पोखरेली समाजको साझा उत्सवको रूपमा स्थापित भएको छ। गण्डकी कोटिहोम महायज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ। स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता, सांस्कृतिक कार्यक्रम र आध्यात्मिक प्रवचनहरूले महायज्ञलाई पोखराको धार्मिक र सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा बनाएको आयोजकको दावी छ । आयोजकले यसलाई सामाजिक एकता, सांस्कृतिक जागरण र आध्यात्मिक उत्थानको अवसरका रूपमा अघि बढाएका छन्, जसले पोखरालाई धार्मिक गन्तव्यको रूपमा थप स्थापित गर्ने विश्वास गरिएको छ।
मानवसेवा फाउण्डेसनको आयोजनामा वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम् धार्मिक कार्यक्रमहरू भने जारी रहेका छन् । महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ । महायज्ञ प्रचार प्रसारका लागि वैशाख १६ गते बिहान ७ वजे भव्य शोभा कलश यात्रा आयोजना हुने छ जसका लागि सोमबार साँझ ११ हजार कलश सजाइने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बैशाख १६ गते ऐतिहासिक विशाल शोभा कलश यात्रा गरिने लागेको कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीले जानकारी दिए।
शोभा कलश यात्रा पोखराको शान्तिघाटबाट शुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैक चोक, हुदै कार्यक्रम स्थलमा पुग्ने छ । उक्त शोभा कलश यात्रामा गंगाको जलसँगै ११ हजार कलश रहने छन् । शोभा कलश यात्रामा देशभरबाट सहभागिता जनाउन सकिने छ। शोभा कलश यात्रामा प्रयोग गरिएका कलश महायज्ञ सकिएपछि प्र्रति कलश १ हजार ३ र दुई वटा कलश २ हजार पाँच सयमा घरमा लैजान सकिने व्यवस्था मिलाईएको मानव सेवा फाउण्डेशन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । शोभा कलश यात्रामा समूह, भेषभुषा, अनुशाशन व्यानर लगायतमा आउने समूहलाई पुरस्कारको व्यवस्था समेत गरिएको मुल समारोह समितिका महासचिव गिरीराज अधिकारीले जानकारी दिए । शोभा कलश यात्रालाई सफल बनाउनका लागि सम्पूर्ण तयारी पुरा भएको कलश यात्रा कार्यक्रम संयोजक दुर्गा केसीले जानकारी दिइन् ।
महायज्ञको मुख्य दिन बैशाख १७ देखी जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्य लगायत प्रस्तुति हुनेछन् ।
