पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको चौथो स्थापना दिवस भव्य कार्यक्रमको आयोजना गरि मनाइएको छ । संस्थाको स्थापना दिवसको अवसरमा कला, साहित्य, नाटक र सङ्गीतको क्षेत्रमा योगदान दिएका ७ जना स्रष्टा तथा २ संस्थालाई नगद सहित सम्मान अर्पण गरिएको छ ।

 प्रज्ञा साहित्य सम्मानबाट मुकुन्द शरण उपाध्याय र डा.जगन्नाथ रेग्मी, प्रज्ञा संस्कृति सम्मानबाट नेवा खलः कास्की र तमु प्ये ल्हुँ सङ्घ नेपाल, प्रज्ञा कला सम्मानबाट वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थ, प्रज्ञा सङ्गीत सम्मानबाट सङ्गीतकार तथा नृत्य निर्देशक धनबहादुर गुरुङ र प्रज्ञा नारी सम्मानबाट रङ्गकर्मी प्रमिला तुलाचन सम्मानित भए । उनीहरु ५० हजार नगद, दोसल्ला सहित ताम्रपत्रद्वारा सम्मानित भएका हुन् । यसैगरी प्रज्ञा युवा सम्मानबाट नाटककार केदार पौडेल र प्रज्ञा प्रोत्साहन सम्मानबाट सरला लामिछाने सरूलाई २५ हजार नगद  र दोसल्ला सहित सम्मान पत्र अर्पण गरियो ।

 कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, उपकुलपति गोरे गुरुङ, गण्डकी विश्वविद्यालयको कुलपति प्रा‍.डा. इन्द्रप्रसाद तिवारी लगायतले उनीहरूलाई सम्मान अर्पण गरेका थिए । कला, साहित्य, नाटक र सङ्गीतको जगेर्ना, संरक्षण र प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो ।

 कार्यक्रममा बोल्दै मन्त्री थापाले स्थापनाको छोटो समयमा प्रतिष्ठानले धेरै महत्वपूर्ण र राम्रा कामहरू सम्पन्न गरिसकेको बताए । गण्डकी कला संस्कृतिमा धनी प्रदेश भएको भन्दै यहाँ रहेका विभिन्न जातजातिको भाषा संस्कृति कला भेषभुषालाई जगेर्ना गर्नको लागि दुरदृष्टि पुर्‍याएर प्रतिष्ठानले काम गरिरहेको बताए । आइतबारबाट कुलपति बिखर्ची नेतृत्वको टिमको कार्यकाल सकिएकाले विवेकपूर्ण हिसाबबाट नयाँ टिम चयन गरिने बताए । कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बिखर्ची नेतृत्वको टिमलाई बधाइ ज्ञापन गरे । प्रदेश सरकारले आवश्यकता महसुस गरेको खण्डमा टिम दोहोरिन सक्ने बताए । त्यस्तो हुन नसकेमा पनि वर्तमान टिमबाट प्रतिष्ठानले सदा साथ पाउने उनको विश्वास थियो । भानु हललाई अझै व्यवस्थित बनाउन सघाउने प्रतिवद्धता जनाए । मगर र गुरुङ भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनका लागि ऐन निर्माण गर्न लागिएको र सदनमा टेबुल भइसकेको खुलाए ।

गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टले प्रतिष्ठानले गरेका गतिविधिको खुलेर प्रशंसा गरे । उनले छोटो समयमा प्रतिष्ठानले उदाहरणीय कार्य गर्न सफल भएको बताए । 

गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानले ४ वर्षमा गरेका कार्यको डकुमेन्ट्री प्रस्तुत गरियो । कार्यक्रममा प्रतिष्ठानले प्रकाशन गरेको २०८२ सालको क्यालेन्डर, कुमाल र दुरा जातिको पुस्तक लोकार्पण गरियो । सन्तोष बस्याल, प्रिया गुरुङ र राज बहादुर गुरुङको गायन र तरेली साँस्कृतिक परिवारका कलाकारको नृत्य प्रस्तुती कार्यक्रमको आकर्षणको रुपमा रहेका थिए । सम्मानित स्रष्टाले प्रतिष्ठान परिसरमा निर्माण गर्न लागिएको चौतारीमा वृक्षरोपण समेत गरे ।

आइतबार बाट नै प्रतिष्ठानले स्रष्टा परिचयपत्र वितरण गर्ने कार्यको पनि सुरुवात गरेको छ । प्रतिष्ठानको परिचयपत्र भएका स्रष्टाहरूले मणिपाल शिक्षण अस्पतालमा उपचार गर्दा १० देखि सत प्रतिशत सम्म छुट पाउने छन् । प्रतिष्ठानका कुलपति बिखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका उपकुलपति गुरुङ र सदस्यसचिव मनकुमार श्रेष्ठले बोलेका थिए । उनीहरूले आफ्ना कार्यकालमा भएका गतिविधिको बारेमा जानकारी दिँदै साथ सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरेका थिए । 

कला, साहित्य, संगीत र संस्कृतिको बिधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवर्धन गर्ने कार्य गरिरहेको प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0