पोखरा । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेसनले आयोजना गरेको साइकल र्याली आज बिहान भव्य रूपमा सम्पन्न गरेको छ।
बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको र्यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो। र्यालीमा उत्साहजनक सहभागिता रहेको थियो।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्तिले र्यालीले स्वास्थ्य, वातावरण संरक्षण, र पर्यटन प्रवर्द्धनको सन्देश प्रवाह गरेको बताए। “यो र्यालीले इन्धनको बचत, मानव स्वास्थ्यको प्रवर्द्धन, र पोखरा भ्रमण वर्ष २०२५ को विकासमा योगदान पुर्याउने हाम्रो लक्ष्यलाई सार्थक बनाएको छ,” उनले भने। उनले र्यालीमा सहभागी सबैलाई धन्यवाद दिँदै पोखरेलीहरूलाई महायज्ञको अभियानमा जोडिन आह्वान गरे । साइकल र्यालीले धार्मिक, सामाजिक, र पर्यटकीय सन्देशलाई एकसाथ प्रवाह गर्दै पोखराको सांस्कृतिक र पर्यटकीय महत्वलाई थप उजागर गरेको आयोजकको भनाइ छ।
मानवसेवा फाउण्डेसनका अनुसार, कोटिहोम महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। बैशाख १२ गते मोटरसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली, र बैशाख १६ गते बृहत् कलश यात्रा आयोजना हुने कार्यक्रम रहेको छ।
४१ दिनसम्म निरन्तर हवन हुने भएकाले भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्ड लगायतका सामग्री लिएर आउन अनुरोध गरिएको छ । कोटीहोम स्थलमा वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण समेत भएको फाउण्डेसनले जनाएको छ ।
कोटीहोममाचैत्र २९ बाट भागवत कथा प्रवचन दिन सुरु भएको थियो । जहाँ सुश्री अनुराधा पाण्डेयले कथा वाचन गरिसकिन् भने अहिले देवी प्रतिभाले कथा वाचन गरिरहेकी छन् । दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले यहाँ कथावाचन गर्नेछन् ।
कोटीहोम आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा हुनेछ ।
