काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चगमनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरूले सङ्कल्प र तागत देखाउनुपर्ने बताएका छन् । नेकपा (एमाले) ले लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको युवा उत्सव (युथ सेलिब्रेसन) कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताएका हुन्।
“देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्त्वसँग सचेत हुनुपर्छ, नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन् । महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन् । ढुक्क हुनुस्, यसको नेतृत्व एमालेले बाटो नबिराई गर्नेछ ।’’, प्रधानमन्त्री ओलीले भने, “वैशाख ११ गते निरङ्कुश राजतन्त्र पराजय र लोकतन्त्रले जितेको दिन हो । यो दिनलाई उत्सवको रूपमा मनाउनुपर्छ । निरङ्कुश व्यवस्थाका कारण देश लामो समय अन्धकारको युगमा गुज्रिएको थियो । हामीले अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको हो । सामन्ती व्यवस्थालाई पुन फर्काउन खोज्ने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउने जस्ता जङ्गली र राक्षसी प्रवृत्ति गलत हो । यस्ता कार्य सह्य हुँदैन ।’’
एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले राष्ट्र विरोधी तत्त्वहरू एमाले विरुद्ध खनिएका उल्लेख गर्दै उनले त्यस्ता शक्तिले एमालेविरूद्ध हरेक दिन भ्रम फिजाउने कार्य गरेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले मुलुकमा एमाले र काङ्ग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्ष्यका साथ बनेको स्पष्ट गर्दै आफ्नो पार्टी सरकारतिर नभई चुनावतिर ध्यान दिइरहेको जनाए ।
आज युवालाई भड्काउने अनेक प्रयास भइरहेको बताउँदै उनले केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका भन्दै यसमा सचेत हुनुपर्ने बताए ।
