पोखरा । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारीलाई तिव्र पारिएको छ ।
मानवसेवा फाउण्डेसनको आयोजना वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम् धार्मिक कार्यक्रमहरू भने जारी रहेका छन् । महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ ।
महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बैशाख १६ गते ऐतिहासिक विशाल कलश यात्रा गरिने कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीले जानकारी दिए।
कलश यात्रा पोखराको शान्तिघाटबाट शुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैङ्क चोक, हुँदै कार्यक्रम स्थलमा पुग्ने छ । उक्त कलश यात्रामा ११ हजार कलश रहने छन् ।
उक्त कलश यात्रामा देशभरबाट सहभागिता जनाउन सकिने छ। कलश यात्रामा प्रयाग गरिएका कलश महायज्ञ सकिएपछि प्रति कलश १ हजार ३ र दुई वटा कलश २ हजार पाँच सयमा घरमा लैजान सकिने व्यवस्था मिलाइएको मानव सेवा फाउण्डेसन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
शोभा कलश यात्रामा समूह, भेषभुषा, अनुशासन ब्यानर लगायतमा आउने समूहलाई पुरस्कारको व्यवस्था समेत गरिएको मूल समारोह समितिका महासचिव गिरिराज अधिकारीले जानकारी दिए ।
कलश यात्रामा जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाबाट विशेष शास्त्रीय प्रवचन हुने भएको छ । महायज्ञको मुख्य दिन बैशाख १७ देखी जेठ २६ गतेसम्म सयौँ गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्य कर्महरू गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्यआदि प्रस्तुति हुनेछन् । कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम अवधिभर विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाईएको छ ।
त्यसैगरी महायज्ञको प्रचार प्रसारका लागि बैशाख ११ गते साइकल र्याली राखिएको छ । साइकल र्याली बिरौटा कार्यक्रम स्थलबाट शुरुभई विरौटा चोक, ड्याम साइड, लेकसाइड, हल्लन चोक, जिरो किमि, मालेपाटन, विन्ध्यवासिनी, भैरव टोल, नाला मुख, तेर्सापट्टी, महेन्द्र पुल, न्यूरोड, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट, मुस्ताङ चोक, पार्दी हुँदै पुन: विरौटामा गएर समापन हुने छ ।
यस्तै बैशाख १२ गते ट्याक्सी र्याली गरिने भएको छ । उक्त र्याली, बिरौटा चोक हुँदै ड्याम साइड, राष्ट्रबैङ्क चोक, लेकसाइड, हल्लन चोक, जिरो किमी, मालेपाटन, हरिचोक बगर पिएन क्याम्पस, नदिपुर, महेन्द्रपुल, रानीपौवा, सितलदेवि, कुडहर, मियापाटन, १३२ किमि चोक, अमरसिंह चोक, विरेन्द्र चोक, राम बजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङ चोक, बिरौटा चोक हुँदै कार्यक्रम स्थलमा गएर समापन हुने छ ।
यसैगरी बैशाख १३ गते हुने मटरसाईकल र्याली पनि ट्याक्सी र्यालीको रुट अनुसार नै हुने आयोजनकले जनाएको छ ।
वैशाख १४ गते फेवातालमा डुङ्गा र्याली हुने छ । उक्त र्याली स्वीमिङ पुल घाटबाट शुरु भइ बाराही मन्दिर परिक्रमा गरेर बाराही घाटमा आएर समापन हुने छ । बैशाख १५ गते विहान पोखरामा बृहत बृहत् पैदल यात्रा हुने भएको छ । महायज्ञमा एकसय वटा हवनकुण्ड रहनेछन्।
पोखराको कोटिहोममा करिब ५० जिल्लाबाट स्वयम्सेवकहरु सहभागी भएको फाउन्डेसनले जनाएको छ । कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिनेछ । यसका अतिरिक्त, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरू राखिएको छ ।
कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ ।
राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्धन, तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणार्थ महायज्ञमा आयोजना गरिएको हो ।
महायज्ञमा अन्तराष्ट्रिय कथा बाचिक देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको महायज्ञ सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
