पोखरा । राष्ट्रिय बहिरा महासङ्घ नेपाल गण्डकी प्रदेश समितिको आयोजनामा साङ्केतिक भाषा सञ्चारको लागि तीन महिने दोभाषे तालिम पोखरामा सुरु भएको छ । तालिमको एक कार्यक्रमकाबीचमा मंगलबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दु कुमार थापाले उद्‌घाटन गरे ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले गण्डकी प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको लागि यो आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । यसरी विनियोजन गरेको बजेटलाई निर्देशक समिति गठन गरेर विभिन्न शीर्षकमा विनियोजन गरिएको उनको भनाइ छ । दोभाषे तालिमको लागि भनेर प्रदेश सरकारले करिब ११ लाख रुपैयाँ छुट्याएको बताएका उनले यो आवासीय तालिम पश्चात रोजगारी प्राप्त हुने बताए ।

मन्त्री थापाले हालै गण्डकी प्रदेश सरकारले एकजना दोभाषेको लागि विज्ञापन गर्दा उपयुक्त पात्र फेला नपारेको दृष्टान्त प्रस्तुत गर्दै कार्यालयमा र प्रदेश सभामा दोभाषे तालिम प्राप्त व्यक्ति राख्ने तयारी भैरहेको खुलाए । जसका कारण दोभाषेका लागि केही अवसर प्रदेश सरकारले सिर्जना गर्नेछ । अपाङ्गता भएका व्यक्तिको हक अधिकार सुनिश्चित गर्ने सवालमा गण्डकी प्रदेश अरु प्रदेश भन्दा अगाडि रहेको दावी उनले गरे । नीति बनाएर अगाडि बढ्न खोजेको बताएका उनले अपाङ्गता भएका व्यक्तिको अधिकारको निमित्त सजग र संवेदशील भएर अगाडि बढिरहेको प्रष्ट पारे । एउटा विधेयक टेबुल गरेर सैद्धान्तिक छलफल पुरा भएर सामाजिक विकास तथा कृषि समितिमा छलफलका क्रममा रहेको बताए । बर्खे अधिवेशनमा पास गर्ने हिसाबबाट काम भइरहेको मन्त्री थापाको भनाइ छ ।

राष्ट्रिय बहिरा महासङ्घ नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष सुनिता थापाको अध्यक्षतामा भएको उद्‌घाटन सत्रमा बोल्दै उनले बहिराहरूको सञ्चारको माध्यम भनेको दोभाषे भएको बताइन् । हरेक क्षेत्रमा दोभाषेको आवश्यकता पर्ने गरेको भन्दै धेरै सङ्घर्ष पश्चात केही उपलब्धीहरू समेत हात परेको बताइन् । गण्डकी प्रदेश सभा सदस्य समेत रहेकी उनले १५ दिन भित्र अधिवेशन गरेर अध्यक्षको जिम्मेबारी हस्तान्तरण गर्ने बताइन् । नयाँ व्यक्तिलाई महासङ्घ गण्डकीको नेतृत्व दिन चाहेको बताएकी उनले यसका हरेक गतिविधि साथ भने निरन्तर दिने वाचा गरिन् । नेतृत्व हस्तान्तरण गरेपनि यो क्षेत्रलाई कहिल्यै छोड्न नसक्ने उनले प्रष्ट पारिन् ।

पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले गण्डकी प्रदेशका सबै जिल्लालाई समेटेर पोखरामा तालिम आयोजना भएकोमा खुशी व्यक्त गर्दै तालिमको सफलताको शुभकामना दिए । राम्रोसँग तालिममा सहभागी बनेर दक्ष बनेको खण्डमा रोजगारीको अवसर प्राप्त हुने भएकोले ध्यान दिएर तालिममा सहभागी बन्न प्रशिक्षार्थीलाई सुझाए ।

श्रवण दृष्टि विहीन सङ्घ नेपालका अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य पुष्पराज रिमालले दोभाषेको लागि तालिम मात्र दिएर नपुग्ने उनीहरूको यसै क्षेत्रमा स्थायित्वका लागि व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सरकारको खर्च सम्बन्धी मापदण्डमा दोभाषे पनि थप्नुपर्ने बताएका उनले दोभाषेलाई अन्त जागिर खान नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

तालिमका सहायक प्रशिक्षक सूर्य मोहन बरालले गण्डकी प्रदेशका ११ जिल्लाका १५ जनाले तीन महिनासम्म तालिम लिने बताए । तालिमले दोभाषे उत्पादन गर्ने उद्धेश्य लिएको र तालिम पश्चात कार्य क्षेत्रमा काम गर्न सजिलो हुने विश्वास व्यक्त गरे । हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म तालिम सञ्चालन हुनेछ । तालिमको प्रमुख प्रशिक्षकमा कृष्ण गजुरेल रहेका छन् ।

राष्ट्रिय बहिरा महासङ्घ नेपाल गण्डकी प्रदेश समितिको उपाध्यक्ष गंगा घर्ती मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक किसान तामाङले र दोभाषेको रुपमा सुवास कोइरालाले सहजिकरण गरेका थिए । तालिममा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको सहयोग र समन्वय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0