पोखरा । भूमि समस्या समाधान आयोग जिल्ला समिति कास्कीको आयोजनामा अभिभुखिकरण कार्यक्रम आयोजना भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी सम्बन्धी स्थानीय तह तथा सरोकारवालासँग आइतबार पोखरामा भूमि सम्बन्धी अभिभुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
नेपाल सरकार भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि प्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले कास्कीमा केही समस्या देखिएकोले त्यसलाई समाधान गर्ने दायित्व समेतका आधारमा तीन पटक यहाँ आएर विभिन्न चरणमा प्रशिक्षित र सहजिकरण गर्ने काम गरिएको बताए । जिम्मेवारीलाई पुरा गरेर यहाँ देखिएका समस्यालाई सहज ढङ्गले समाधान गर्नको लागि आएको उनको भनाइ थियो । यस्ता कार्यक्रम विभिन्न जिल्लामा गरिएको समेत उनले खुलाए ।
भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य डा जगत बस्नेतले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले जनताको आक्रोशलाई सम्बोधन गर्नका लागि संयमित भएर जनप्रतिनिधि र कर्मचारीले काम गर्नुपर्ने बताए । पार्टी भन्दा माथि उठेर सर्वदलीय सहमतिमा काम गर्न जोड दिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुष्टि नभएका कुराहरू बोलिदिँदा समस्या भएको बताए । मिडिया ट्रायलको लागि भन्दापनि आधिकारिक कुरा र त्यसको प्रक्रियाको बारेमा गहिराइमा पुगेर भन्न सके मात्र अर्थ रहने बताए । भूमिसँग सम्बन्धित समस्याकोबारेमा पनि जथाभावी बोल्ने वा लेख्ने हो भने टुङ्गोमा पुग्न नसकिने बताए । पोखरामा १९ हजार १ सय ७६ जनालाई सेतो निस्सा दिइएको बताए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल आयोगले अपेक्षाकृत गति लिन नसकेको महसुस भएको बताए । उनले योजना बनाएर चरणवद्ध काम गर्न सुझाए । आयोगका विज्ञ सदस्य अनिल कुमार प्रसाईंले १३ लाख परिवार आयोगसँग जोडिएको बताए । उनीहरूलाई न्याय दिनुपर्ने जिम्मेवारीमा आयोग रहेको भन्दै यो संवैधानिक आयोग भएको प्रष्ट पारे । तीन वर्षमा समाधान गर्ने लिखित सम्झौता सहित कार्य प्रारम्भ गरिएकोले उद्देश्य पुरा हुने विश्वास उनले व्यक्त गरे ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति कास्की अध्यक्ष वैन बहादुर गुरुङ अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देल, नेकपा एकीकृत समाजवादी कास्की अध्यक्ष खड्ग बहादुर हमाल, विज्ञ सदस्य पशुपति भट्टराई, माओवादी केन्द्रका प्रतिनिधि भेषराज पौडेल, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसी, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, मादी गाउँपालिका अध्यक्ष देवीजगं गुरुङ, भूमि समस्या समाधान आयोग जिल्ला समिति कास्की सदस्य कृष्ण कुमारी दवाडी, सदस्य तथा प्रवक्ता आश बहादुर गुरुङ लगायतले बोलेका थिए ।
आयोगले गर्ने काम र स्थानीय निकायले गर्ने कामको बारेमा कार्यक्रममा प्रष्ट पारिएको थियो । आयोगमा ११ लाख ३ हजार ९ सय ८० निवेदन दर्ता भैसकेको छ । केही निवेदन रेकर्डमा आउने क्रममा रहेकाले यो सङ्ख्या केही बढ्नेछ । अहिलेको आयोगले देवी ज्ञवाली आयोग र केशव निरौला आयोगले गरेका कामको अपनत्व लिएर बाँकी काम गर्ने बताएको छ ।
