पोखरा । राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाडौँसँग पोखरा महानगर क्रिकेट क्लबले लज्जास्पद पराजय व्यहोरेको छ ।
पोखरा क्रिकेट खेल मैदानमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी दोस्रो केपी ओली कप पुरुष राष्ट्रिय टि २० क्रिकेटमा तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाडौँ ९ विकेटले बिजयी भएको हो । जितसँगै लिगमा अपराजित रहँदै कुल ६ अङ्कका साथ उसले सेमिफाइनल यात्रा सुरक्षित गरेको छ ।
पोखराले आफ्ना लिग चरणका तीन खेलमा नै पराजयको सामना गरेको छ ।
पोखरा महानगरले टस जितेर ब्याटिङको सुरुवात गर्दै १७.२ ओभरमा १० विकेटको क्षतिमा ५३ रन बनायो । पोखराले १० रन अतिरिक्त रनको रुपमा पायो ।
समूह ‘ए’को अन्तिम चरणको खेलमा पोखराको पारीलाई ध्वस्त पार्ने क्रममा म्यान अफ दि म्याच समेत रहेका सिइसी काठमाण्डौका दिपेन्द्र रावतले र युनिश विक्रम सिंह ठकुरीले समान ३/३ विकेट हात पारे । दिपेन्द्रले आफ्नो ४ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट लिए भने विक्रमले ३.२ ओभरमा ९ रन दिएर ३ विकेट लिए ।
पोखराका कविन सापकोटाले १२ रनको दोहोरो रन बनाउनु बाहेक अन्य खेलाडीहरू क्रिजमा टिक्न सकेनन् । पोखराका लागि आशिष न्यौपाने ९, सुमित श्रेष्ठ र अञ्जन केसीले समान २/२, प्रमोद बास्तोला, अभिनव शाह, मार्सल बरालले समान ३/३ रन बनाए । समिर भुजेल र सुवास बास्तोला सुन्य रनमा आउट भए ।
त्यस्तै काठमाण्डौका लागि सूर्य तामाङले ४ ओभरमा १० रन दिएर २ विकेट तथा मनोज यादव र अशोक बोहोराले समान १/१ विकेट हात पारे ।
५४ रनको झिनो लक्ष्य पछ्याएको टिमको कप्तानी सम्हालेका रित गौतमले आक्रामक पारी खेल्दै १५ बलमा ३६ रनको योगदान दिए । उनले आफ्नो पारीमा ३ छक्का र ४ चौका प्रहार गरे । उनी सुभास बास्तोलाको बलमा अभिनवको हातबाट क्याच आउट भए । त्यस्तै दिपेन्द्र रावतले ८ बलको सामना गर्दै १ चौका र २ छक्का साथ १९ रन बनाउँदा शिवम् तिवारीले २ रन बनाए ।
समुह एको अन्तिम लिग खेल हेटौँडा स्पोर्ट्स एकेडेमी र स्याङजा क्रिकेट क्लबका बीच हुनेछ । दुवैले लिग चरणमा एक–एक खेल जितेका छन् ।
