पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को उदीयमान खेलाडी पुरस्कार सहारा क्लब पोखराले प्रायोजन गर्ने भएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २० वैशाख २०८२ मा हुने  नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको वर्ष उदीयमान खेलाडीको पुरस्कार प्रायोजन सहारा क्लब पोखराले गर्ने भएको हो । आइतबार एक कार्यक्रमका बिचमा सहारा क्लबले यस वर्ष समेत उदीयमान खेलाडी पुरस्कार प्रायोजन गर्ने मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) ले जानकारी दिए ।

मिति घोषणासँगै अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारी सुरु भइसकेको उनको भनाइ छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई ऊर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आइरहेको छ ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने अध्यक्ष घर्तीले जनाए । उक्त कार्यक्रममा सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, महासचिव रामजी अधिकारी, मञ्चको तर्फबाट अध्यक्ष सहित उपाध्यक्ष राजाराम पौडेल, कोषाध्यक्ष विमल तिवारी लगायतको सहभागिता रहेको थियो ।

अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहने मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0