पोखरा । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रको पालामा समृद्ध थियो भन्ने भ्रममा नबस्न आग्रह गरेका छन् । सोमबार कृषि विकास बैङ्क कर्मचारी सङ्घको १० औँ केन्द्रिय परिषद बैठक पोखरामा उद्‌घाटन गर्दै उनले नेपालको २०४६ सालअघि र अहिलेको कुल ग्राहस्थ उत्पादनको उदाहरण दिदैँ नेपाल अहिलेभन्दा पहिला समृद्ध थियो भनेर भ्रममा नबस्न आग्रह गरे । 

देश बिग्रिएको भनेर गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै उनले अहिलेको जमानामा तथ्य बङ्ग्याउन नमिल्ने उल्लेख गरे । उनले राजाको पालामा देशको कुल ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आए, विद्युतको पहुँच, आधारभूत खानेपानी सुविधा देखि सडक पहुँचका साथै अन्य सबै विकाशका सूचक हेर्न र अहिलेको अवस्था हेरेर तथ्यमा बहस गर्न चुनौती दिए ।

उनले नेपालीहरू विश्वका अतिविकसित देशहरूमा पुगेर त्यहाँको विकासलाई यहाँको विकाससँग तुलना गरेर हेरेर निराश हुने गरेको बताउँदै विकसित देशसँग भन्दा पनि पहिला कस्तो थियो र अहिले कस्तो अवस्थामा आइपुगेको तुलना गर्न आग्रह गरे । महासचिव पोखरेलले पढे–लेखेको पुस्ता कृषि क्षेत्रमा जान नखोज्नु देशमा बेरोजगारी बढ्नुको कारण भएको टिप्पणी गरे । देशमा कुनै समय ७० प्रतिशत जनसङ्ख्या कृषिमा आबद्ध रहेको तर नयाँ पुस्ता कृषिसँग जोडिन नचाहेकैले सबैलाई रोजगारी सिर्जना गर्न नसकिएको उनले बताए ।

 नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले गणतन्त्र र लोकतन्त्रको विकल्प राजतन्त्र कदापी हुन नसक्ने दावी गरे। राजतन्त्र फर्काउने भन्दै केही समुह लागीरहेकोप्रति लक्षित गर्दै  उनले त्यो सम्भावना नरहेको ठोकुवा गरे । उनले नेकपा एमालेलाई कमजाेर बनाउन र नेपालको शिर झुकाउन विदेशी शक्तिहरूले चलखेल गरिरहरेको जिकिर गरे ।

एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बैङ्क र वित्तीय संस्थाहरूले रोजगारीको क्षेत्र, वस्तुको बजार आदिको अध्ययन गरेर पोलिसी बनाउनुपर्ने बताए । उनले वित्तिय संस्थाहरूले प्रवाह गरिरहेको ऋण, अनुदान लगायतका अन्य सेवाहरू कत्तिको प्रभावकारी भइरहेको छ वा त्यसको उचित प्रयोग भइरहेको छ वा छैन भन्नेबारे पनि अनुगमन गर्न जरुरी रहेको औँल्याए । कृषिलाई वैज्ञानिकिकरणव्यवसायीकरण गर्नैपर्ने  भन्दै यसमा कृषि बैंकले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनको जोड थियो । 

सङ्घीय सासंद दामोदर वैरागीले एमाले र यसका नेता माथि चौतर्फी प्रहार भइरहेकोबताए । ट्रेड युनियनलाई राजनीतिक अधिकारसहितको अधिकार दिनुपर्ने उनको जोड थियो।

कृषि विकास बैङ्क कर्मचारी सङ्घका अध्यक्ष लिला जिसी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कृषि विकास बैङ्क गण्डकी प्रदेशका निर्देशक घनेन्द्र अधिकारी, कृषि विकास बैङ्क कर्मचारी सङ्घका पूर्वअध्यक्ष भोजराज भट्टराई, नेपाल वित्तिय संस्था कर्मचारी सङ्घ कृषि विकास बैङ्कका अध्यक्ष रामबहादुर रावल, कृषि विकास बैङ्क कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष इन्द्रमणि ढुङ्गाना, कृषि विकास बैंक कर्मचारी युनियनका प्रतिनिधि प्रेम गुरुङ, वरिष्ठ उपाध्यक्ष छगेन्द्र आचार्य लगायतले बोलेका थिए ।

सोही कार्यक्रममा  पूर्वअध्यक्षहरू भोजराज भट्टराई, ताराखर अधिकारी, कविप्रसाद पाठक, जीलाल बस्याल, ध्रुव खनाल, कुल प्रसाद शर्मा, मोहिनी खनाल, बैङ्कका पूर्व उपमहाप्रबन्धक दीर्घबहादुर अधिकारीलाई सम्मान गरिएको थियो ।

 उद्घाटनअघि होटल पौवाबाट सुरु भएको प्रभातफेरी वडा प्रहरी कार्यालय बैदाम, सहिदचोक पुगेर पुनः होटल पौवामै पुगेर उद्‌घाटन सत्रमा परिणत भएको थियो । परिषदमा देशभरका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो । सङ्घको २५ औँ अङ्कको स्मारिका विमोचन सोही कार्यक्रममा गरियो । कार्यक्रममा हिमाली सांस्कृतिक परिवार र गायकद्वय जीवन दाहाल र तारापती सुवेदीले प्रस्तुती समेत राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0