पोखरा । पोखरामा ‘कार मोटर र्‍याली’ सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को पूर्व सन्ध्यामा पोखरामा मोटर र्‍याली आयोजना गरिएको हो ।

पोखरा रङ्गशालाबाट र्‍याली सुरु भएको थियो । गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले फ्ल्याग अफ गरी र्‍यालीको उद्‌घाटन गरे । मोटर र्‍यालीमा ७३ जना प्रतिस्पर्धीले दर्ता गराएका थिए, जसमा ५३ जना पुरुष र २० महिला ड्राइभरहरूले भाग लिएका थिए ।

र्‍याली पृथ्वीचोक, मुस्ताङचोक, बिरौटा, ड्यामसाइड, राष्ट्रबैङ्कचोक, बसुन्धरा पार्क, बाराहीचोक, हल्लनचोक, जिरो किमी, हरिचोक, हेम्जा, घट्टेखोला, नौंडाडा, कास्कीकोट, सराङकोट, बिन्ध्यबासिनी, बागलुङ बसपार्क, नालामुख, तेर्सापट्टी, महेन्द्रपुत्र, नयाँबजार, पृथ्वीचोक, सभागृह, न्युरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै र्‍याली अमरसिंहचोक मैदानमा पुगेर समापन भएको हो ।

र्‍याली सहितको प्रतियोगितामा पुरुष क्याटेगोरीमा शोभित मान बुद्धाचार्य (ड्राइभर) र सुशिन लामा (नेभिगेटर) ले प्रथम स्थान प्राप्त गरे । त्यस्तै, दोस्रो स्थान सुमन बिजुक्छे र रोजिना रञ्जित बिजुक्छेले हासिल गरे भने, सुनिल श्रेष्ठ र अनिल श्रेष्ठ तेस्रो स्थानमा रहे । महिला क्याटेगोरीमा तिसा जोशी र रेजिना श्रेष्ठले प्रथम स्थान हासिल गरे । रोमिका बुद्धाचार्य र चिरायु शेरचन दोस्रो स्थानमा रहे भने, शोभा केसी र सरोज कायस्थ तेस्रो स्थानमा रहे ।

 

नाडा र वाडा सहित गण्डकी प्रदेश अटोमोबाइल संघ (नाडा गण्डकी), नेपाली युवा उद्यमी मञ्च पोखरा, जोन्टा क्लब पोखराको संयुक्त आयोजनामा मोटर र्‍याली आयोजना गरिएको हो । यो मोटर ‍र्‍यालीलाई नेपाल अटोमोबाइल्स एसोसिएसनको मार्सल तथा ट्रेनिङ कमिसनबाट प्रशिक्षित मार्शलहरूले व्यवस्थित रूपमा सञ्चालन गरेका थिए ।

प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै मोटरस्पोट्र्सका प्रतिभाहरूलाई उजागर गर्ने अवसर प्रदान गरेको यस र्‍यालीको उद्देश्य साहसिक खेलकुद, ड्राइभ टुरिजम र महिला सशक्तीकरण रहेको कुरा गण्डकी अटोमोबाइल्स सङ्घका अध्यक्ष शिव श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री बिन्दुकुमार थापाले पोखरामा अटो शो आयोजना हुनु राम्रो पक्ष रहेको बताए । विशेष अतिथि नाडाका निवर्तमान अध्यक्ष ध्रुवबहादुर थापाले पोखरामा अटो सो आयोजना गर्दा अटो क्षेत्रलाई चलायमान बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वाडाका अध्यक्ष दिपेन्द्र कोइराला, वाडाका उपाध्यक्ष एवं अटो शो संयोजक निरन केसी लगायतले बोलेका थिए । चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो सो हुनेछ । अटो सोका लागि २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण लगायत कम्पनीहरुको स्टल रहने संयोजक निरन केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0