पोखरा । लेखनाथमा दोस्रो सूर्य तारा खेल महोत्सव शुरु भएको छ । सूर्य तारा क्लबको आयोजनामा भएको यो महोत्सवको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शनिबार उद्‌घाटन गरे । कार्यक्रममा बोल्दै उनले खेल आफैमा पर्यटन प्रवर्द्धनको माध्यम भएको बताए । खेल  क्षेत्रले पर्यटनको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै त्यसको लागि यस्ता प्रतियोगिता आवश्यक पर्नेमा जोड दिए ।

सूर्य तारा क्लबले विभिन्न विधा समावेश गरी खेल महोत्सवको आयोजना गरेर यो क्षेत्रको विकासमा योगदान दिएकोमा खुशी व्यक्त गरे । खेल पदकका लागि मात्र नखेली मनोरञ्जन, सहकार्य, सद्भाव, सृजनशीलता, राष्ट्रिय एकता र अनुशासन कायम गर्नका लागि खेलिने भएकाले खेलकुदको माध्यमबाट देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउन पनि सहयोग पुग्ने धारणा राखेका थिए ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले खेलको माध्यमबाट सम्बन्ध स्थापित गर्न सकिने बताए । पोखरा पर्यटनको राजधानीको रुपमा रहेको र आगामी दिनमा खेल पर्यटनको राजधानीको रुपमा विकास गरी नयाँ उचाइ प्राप्त गर्न सकिने  बताए ।

 लेखनाथ उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष एवं खेलकुद महोत्सवका मुख्य प्रायोजक कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिका प्रबन्धक विक्रम कर्माचार्यले  लेखनाथ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका खेलहरू आयोजना गर्न सके पर्यटकीय गतिविधि बढ्ने बताए । त्यसको लागि खेलका पूर्वाधार निर्माण गर्दै खेल गतिविधिहरू अगाडि बढाउनु पर्नेमा जोड दिए ।  ‍ 

पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले खेललाई विषेश महत्व दिएको बताउँदै साविक लेखनाथ नगरपालिकाको एक मात्र खेल मैदान भण्डारढिक खेल मैदानको स्तरोन्नतिको आवश्यकता औँल्याए । युवा व्यवसायी पुष्पज्योती ढुङ्गानाले युवाहरू विदेशिने क्रमलाई रोक्नका लागि पनि यस प्रकारका खेलहरूलाई निरन्तरता दिन सक्नु पर्ने बताए । कार्यक्रम सूर्य तारा क्लबका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको थियो ।

खेल सञ्चालन पूर्व स्थानीय विभिन्न ८१ सङ्घ संस्था एवम् महिला/आमा समुहले आफ्नो कला संस्कृति, परम्परा सहितको पहिचान झल्किने झाँकी प्रस्तुत गरेका थिए ।

यसैबीच पोखरा–२९ स्थित प्रस्तावित लेखनाथ रङ्गशालामा शनिवार भएको उद्‌घाटन नेकोस कप फुटबल  खेलमा आयोजक सूर्य तारा क्लब बिजयी भएको छ । सूर्य तारा क्लबले श्रीकृष्ण दल फूलबारीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।  सूर्य ताराका लागि विनम गुरुङले र नकुल तामाङले गोल गरे । नेकोस कप फुटबलमा आइतबार दिउँसो १ बजे अन्नपूर्ण गाउँपालिका र विष्णु पादुका क्लब हेम्जाबीच खेल हुनेछ ।

फूटबल प्रतियोगितामा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने कार्यक्रम संयोजक समेत रहेका अध्यक्ष पुनले बताए ।  द्वितीय हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर नेपाल खेलकुद महासङ्घ रहेको छ।

चैत्र २ गते सम्म हुने खेल महोत्सवमा फुटबलका अलावा महोत्सवमा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत महोत्सवमा हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सह प्रायोजकमा बन्दिपुर केबल कार प्रालि रहेका छन् । प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद नेपाल, प्रदेश खेलकुद परिषद गण्डकी र नेपाल पर्यटन बोर्ड रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0