पोखरा । विश्व हिन्दु महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर खरालले मानव सेवा फाउण्डेसनद्वारा पोखरामा आयोजना गर्न लागिएको ‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ बाराहीघाटमानै हुने दावी गरेका छन् । शनिबार विश्व हिन्दु महासङ्घ नेपाल जिल्ला कार्य समिति कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गलत नजिर नबसुन् भन्नको लागि यो यज्ञ सोही ठाउँमा हुने प्रष्ट पारे । यज्ञ कसैले रोकेर नरोकिने र रोक्ने प्रयास गर्नु नै गलत भएको उनको भनाइ छ ।

खरालले शुक्रबार भूमि पुजन गर्ने क्रममा पोखरा महानगरपालिकाले आफ्ना प्रहरीहरू र गुण्डाहरूको घुसपैठ नगराएको भए दोहोरो झडपको अवस्था नहुने दावी गरे । शुक्रबारको आक्रमणलाई उनले वैदिक सनातन धर्म माथि आक्रमण भन्दै यसरी आक्रमण हुँदा हजारौं मानिसले बलिदानी दिएकै कारण आजसम्म सनातन धर्म बचेको खुलाए । यसअगाडि धर्मगुरु बिजय कृष्णमूर्तीले दिएको विवादास्पद अभिव्यक्तिको समेत खरालले बचाउ गरे ।

कसैका महायज्ञ रोकिनु हुँदैन भन्ने माग महासङ्घको रहेको उनले खुलाए । यदि यो महायज्ञ रोकियो भने र छिटो समाधान नखोजिए विश्व हिन्दु महासङ्घ चरणवद्ध आन्दोलनमा उत्रने बताए । अन्तराष्ट्रिय हिन्दु परिषदको अध्यक्ष समेत रहेका खरालले आफूहरूले साङ्केतिक रुपमा आन्दोलन गर्ने तयारी गरेको समेत बताए । जस अनुसार आइतबार बिहान साढे ९ बजेदेखि देखि साढे १० बजेसम्म पोखरा महानगरपालिकामा धर्ना दिने कार्यक्रम तय भएको बताए । महानगरले सोमबार दिउँसो ३ बजे वार्तामा बोलाएकाले त्यसमा सहभागी हुने र वार्ताबाट सही निकास ननिकालेको खण्डमा थप आन्दोलन गरिने खुलाए । आन्दोलन कसरी अगाडि बढाउने भन्नेमा सबै धार्मिक सङ्घ संस्थासँग छलफल गर्ने उनको भनाइ छ । धार्मिक संस्था प्रतिको हेपाहा प्रवृत्ति क्षम्य नहुने उनले प्रष्ट पारे ।

विश्व हिन्दु महासङ्घ नेपाल जिल्ला कार्य समिति कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष तथा मातृशक्ति गण्डकी प्रदेशका संयोजक पार्वता पौडेल, विश्व हिन्दु महासङ्घ नेपाल राष्ट्रिय समिति कास्की जिल्लाका महासचिव भुपेन्द्र गिरीले समेत बोलेका थिए । मानव सेवा फाउन्डेसनले पोखराको बाराहीघाटमा वैशाख १७ देखि कोटीहोम गर्ने भनेको छ भने पोखरा महानगरले उक्त ठाउँमा कोटीहोम हुनै नसक्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0