पोखरा । सूर्यतारा क्लब पोखराले दोस्रो सूर्यतारा खेल महोत्सव आयोजना गर्ने भएको छ । यहीं फागुन २४ गतेदेखि चैत्र २ गतेसम्म पोखरा २९ भण्डारढिकमा रहेको प्रस्तावित रङ्गशालामा सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले मङ्गलबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन् ।
महोत्सवको मुख्य आकर्षणको रुपमा नेकोस कप पुरुष फुटबल प्रतियोगिता रहेको छ । यस प्रतियोगितामा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने सूर्य तारा क्लब पोखराका अध्यक्ष तथा खेल महोत्सवका कार्यक्रम संयोजक विष्णु पुनले जानकारी दिए ।
द्वितीय हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा १२ टिम सहभागी गराउने आयोजकको तयारी छ । फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर नेपाल खेलकुद महासङ्घ रहेको संयोजक पुनले खुलाए।
फुटबलका अलावा महोत्सवमा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत आयोजना गरिनेछ ।
फागुन २४ गते प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले महोत्सवको उद्घाटन गर्नेछन् । चैत्र २ गते हुने समापन कार्यक्रममा नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थिति रहनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सह प्रायोजकमा बन्दिपुर केबल कार प्रालि रहेका छन् । प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद नेपाल, प्रदेश खेलकुद परिषद गण्डकी र नेपाल पर्यटन बोर्ड रहेका छन् ।
झण्डै ३५ हजार दर्शकले महोत्सवमा उपस्थित भएर र १५ लाख हाराहारीले विभिन्न मिडियाको माध्यमबाट महोत्सवमा हुने गतिविधि अवलोकन गर्ने आयोजकको अनुमान छ । सूर्य तारा क्लब पोखराका अध्यक्ष तथा कार्यक्रम संयोजक विष्णु पुनको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रचार प्रसार समितिका संयोजक शिवराज सुवेदी र क्लबका सल्लाहकार शिव अधिकारीले पनि बोलेका थिए ।
महोत्सवमा हुने फुटबल प्रतियोगिता हेर्नको लागि प्रिक्वार्टर फाइनल र क्वाटर फाइनलको लागि १ सय रुपैयाँ तथा सेमिफाइनल र फाइनलका लागि २ सय रुपैयाँको टिकट काट्नुपर्नेछ । चैत्र २ गते हुने समापन कार्यक्रममा रचना रिमाल लगायतका कलाकारको प्रस्तुती समेत रहनेछ । महोत्सव सञ्चालन गर्न ८३ लाख खर्च हुने र त्यसको व्यवस्थापन सहित केही रकम बचत गर्ने आयोजकको लक्ष्य रहेको छ।
