पोखरा । कास्कीको मादी गाउँपालिकाले दोस्रो अध्यक्ष कप खुला भलिबल प्रतियोगिता २०८१ सञ्चालन गर्ने भएको छ । आइतबार आयोजक मादी गाउँपालिकाले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार पालिका स्थापना दिवसको अवसरमा फागुन २७ देखि २९ गतेसम्म हुने प्रतियोगिताको तयारीमा तिव्रता दिइएको छ ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले कार्यपालिकाको निर्णय अनुसार पालिका स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्न लागिएको बताए । पर्यटकीय तथा सांस्कृतिक हिसाबले नेपालकै महत्वपूर्ण ठाउँको रुपमा रहेको यस पालिकाको पर्यटकीय र धार्मिक क्षेत्रहरूको प्रचारप्रसार साथै संस्कृति आदानप्रदान गर्ने हेतुले कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । गण्डकी प्रदेशका सबै वडालाई समेट्ने लक्ष्यका साथ गर्न लागिएको प्रतियोगितामा वडाको सिफारिसको आधारमा टिमले भाग लिन पाउने छन् । खेलाडीलाई खेल प्रदर्शन गर्ने थलोको रुपमा यसलाई विकास गर्न खोजिएको उनको भनाइ छ ।
पहिलो संस्करणको अध्यक्ष कप भलिबल प्रतियोगिता पालिकास्तरीय गरिएको भएपनि दोस्रो संस्करणमा खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको रुपमा गर्न लागिएको खुलाए ।
उनका अनुसार खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेताले २ लाख, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागतर्फ तर्फ उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार रहेको पालिकाले जनाएको छ । सेमी फाइनल प्रवेश गर्ने टिमले ५०र५० हजार रुपैयाँ पाउनेछन् ।
पालिका स्थापना दिवसको अवसरमा पालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगिता अवधिभर होमस्टेमा एकजनाको लागि एकरातको १ हजार रुपैयाँको प्याकेज रहेको पालिकाले जनाएको छ । कार्यक्रममा स्थानीय झाँकीहरूको प्रदर्शन गरिनेछ । घाटु, सोरठी, बालन, भजन, चुड्का लगायत गाउँमा भएको संस्कार संस्कृति प्रदर्शन गर्ने तयारी रहेको उनले बताए । सांस्कृतिक कार्यक्रममा गाउँपालिकामा रहेका स्थानीय कलाकारलाई सहभागी गराइने छ ।
ुखेल अभियान पर्यटन र संस्कृतिको पहिचानु भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताको सह आयोजकको रुपमा मिलन युवा क्लब रहेको छ । भलिबल प्रतियोगिताको लागि टिम दर्ता सुरु भइसकेको छ । हरेक टिमले ३ हजार ५ सय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ । प्रतियोगिता मादी गाउँपालिकाको याङ्जाकोटमा सञ्चालन हुनेछ ।
