पोखरा । पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलमा ‘राजनीतिका सुखदुःख’ सत्रमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी देखिए । उनको राजनीति यात्राका सुखदुःख बारेमा प्रश्न सोध्ने जिम्मेवारी नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मालाई थियो । संयोग के भने शर्माको जन्मथलो अधिकारीले निर्वाचनमा प्रतिष्पर्धा गर्ने क्षेत्र थियो । शर्माले यो प्रसङ्ग झिक्दै सत्र अगाडि बढाइन् । अनि राजनीतिका सुखदुःख कोट्याउन थालिन् ।
सुखदुःख को प्रश्नमा जवाफ दिँदै अधिकारीले भने ‘मान्छेले सुख भनेको अनुभव गर्ने कुरा रहेछ । जेलमा हुँदा पनि म सुखको अनुभूति नै गर्थे, मेरा कविताहरू केही त्यहीबेला आए ।’ उनले पदमा हुँदा बरु बढी छटपटी हुने सुनाए । ‘पदमा हुँदा अलि छटपटिन्छु मैले कही बिगार्छुकी । मेरो कारणले कसैको नोक्सान पर्छकी भनेर । मलाई व्यस्तता र तनाव भयो भने पदमा हुँदा हो ।’
सुख केलाई भन्ने हाम्रो आफ्नै परिभाषा छ । दुःख केलाई भन्ने हाम्रै परिभाषा छ । दुःखलाई सुख बनाउ सुखलाई अझ आनन्दमा परिणत गरौँ । त्यो काम के भने जीवन छोटो छ । फेरि जीवन पाइन्छ भन्ने हामीलाई इलुजन छ । वास्तविकता यहीँ हो । हृदयमा यदि कसैले भगवान मान्छ भने हृदयमा नै भगवान छन् । बा आमा र पितृहरूको उद्धार गरौँ । प्रकृतिको संरक्षण गरौँ । संस्कृतिको संरक्षण गरौँ । हाम्रो देश संसारको सुन्दर सुनको टुक्रा भएको देशलाई हामी अलिकति हराबरा बनाउ । अनेकौँ सकारात्मक कुरा अगाडि ल्याउ । निन्दा भत्सर्नाले आफै विरूप भइन्छ । सबैको प्रशंसा गरौँ, सम्मान गरौँ, सहयोग लिउ, देश अगाडि बढाउ, उनले भने ।
नेकपा एमालेको स्थायी कमिटी सदस्य रहेका अधिकारीले आफ्नो राजनीतिक यात्राबारे समेत बेलिविस्तार लगाए । कास्की बेगनासमा रहेको तत्कालीन आनन्दज्योति निमाविमा अध्ययन गर्ने क्रममा यात्रा सुरु भएको बताएका उनले २०२९ सालमा उक्त विद्यालयको स्ववियु सभापति बनेको खुलाए । पार्टी सदस्यता २०३३ साल असार ३ गते लिएका उनले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको स्मरण गरे । उनी एरिया कमिटी, क्षेत्रीय कमिटी, जिल्ला कमिटी अञ्चल इन्चार्ज लगायतका जिम्मेवारी हुँदै अहिले स्थायी कमिटी सदस्य छन् । २०३६ पछि राजनीतिमा सक्रिय भए । यसरी सक्रिय बन्दा बुबा, दाजुहरू तथा आफन्त खुशी थिएनन् । काठमाण्डौमा गएर इन्जिनियरिङ पढोस् भन्ने थियो । तर उनी काठमाडौँबाट फर्किएर पृथ्वीनरायण क्याम्पसमा आएर आइएससी भर्ना भए । त्यसपछि उनलाई परिवारबाट साथ कम भयो । केही समय ट्युसन पढाउदै खर्च जुटाउदै गर्न थाले ।
झण्डै ६ वर्ष जेल जीवन बिताएका उनलाई गिरफ्तार गरेर ३० भन्दा बढी मुद्दा मात्र लगाइयो । यातना पनि दिइएको रहेछ । जसका कारण उनको कानमा असर समेत पर्यो । उनका शरिरमा चोटका ती डाम बाँकी नै रहेको छन् । उनीसँग केही तिता अनुभव पनि छन् । २०४२ सालमा उनी जेलमा परे । त्यतिबेला बुबाले उनलाई भेट्न चाहन्थे । तर नभेट्दै २०४३ असोजमा बुबाको निधन भयो । १३ किमी भित्र घर भएका व्यक्ति काजकिरियामा जान पाउने व्यवस्था थियो । त्यतिबेला हालका प्रधानमन्त्री केपी शर्मा ओली पनि जेलमा रहेका थिए । उनैले निवेदन लेखिदिए । घरपरिवारलाई आवश्यक समय दिन नसकेको उनको अनुभव छ ।
आफ्नो जीवन यसो हेर्दा अप्ठ्यारो जस्तो पनि भएको अधिकारी बताउँछन् । आठ महिनामा जुम्ल्याह सन्तानको रुपमा आमाले मल बोक्दा बोक्दै गर्दा खेतको गरामा जन्मिएका उनी आमासँग बढी नजिक थिए । आफुलाई परेका दुःख सुखका कुरा उनले आमालाई भन्ने गर्थे । आमाले तिलहरी बेचेर ‘नौलौ हाँक’ पत्रिका निकाल्न सघायको उनको मानसपटलमा ताजै छ । मेरो आमा मेरा लागि त्यो बराबरको भगवान त कोही पनि छैन । ‘आमाको काख लाख भन्छन् । मेरो लागि त खर्बौ खर्ब थियो ।’ भुकम्पको समयमा आमालाई बोक्दै तल झार्दै गरेको ६, ७ दिन गाडीमा नै सुतेको उनले भुलेका छैनन् । स्वास्थ्यमन्त्रीको कार्यकाल सकिएको केही समयपछि आमालाई उनले गुमाए ।
राजनीतिको आर्दश व्यक्ति केपी शर्मा ओलीलाई मान्ने उनी तीन महिना ओलीसँगै जेलमा बसेका थिए । केपीओलीमा धैर्यता, कतिपनि नआत्तिने, विचार र दार्शनिक चेत राम्रो रहेको पाएको बताए । त्यतिबेला जतिञ्जेल बाच्छु केही न केही गर्नुपर्छ भन्ने हुटुहुटी भएको उच्च विचार र मिलनशिल व्यक्ति रुपमा आफूले पाएको खुलाए ।
अधिकारी समय व्यवस्थापनमा पक्का छन् । कतिपय कार्यक्रममा आयोजक भन्दा पहिल्यै पुग्ने गरेका धेरै अनुभव छन् । धुम्रपान र मध्यपानमा कहिल्यै प्रवेश नगरेको बताउने उनले यहीँ कारण साथी गुमाएको सुनाए । दैनिक योग र मर्निङ वाल्क गर्ने उनी बिहान ५ बजेनै कामको लागि तयार हुन्छन् । यहीँ सादगी जिवनले उर्जा थपेको उनको भनाइ थियो । दिनभर भएका कार्यहरुको बारेमा बेलुका घोत्लने गरेका उनले सुर्धानुपर्ने केही भए सुर्धान समेत कस्सिने गरेका छन् । केहीले कडा स्वभावको भन्ने गरेकोले त्यो स्वचभावलाई समेत सच्याउने प्रयास गर्ने गरेको उनले खुलाए । आफ्ना कमीकमजोरी प्रति सकभर आत्मआलोचक हुने गरेको उनको भनाई छ ।
छोटो समयको लागि राज्यका केही पदमा पुगेका अनले पदमा रहँदा केही महत्वपूर्ण काम थालनी गरेको बताए । सुदुर पश्चिमका ९ वटै जिल्लामा सिजरिङ सेसन सुरु, स्वास्थ्य विमाको पाइलोटिङ, प्रसुती अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोभ्याक्स बाट भ्याक्सिन ल्याउने अवस्थाको सिर्जना गरेको उनले स्मरण गराए । निवेदन परेको २४ घण्टा भित्र निवेदन फछ्यौट नगरे सिडियोले जिल्ला छोड्ने मात्र नभएर सुराकीको पैसा नलिने गृहमन्त्रीको रुपमा आफू रहेको सुनाए ।
