पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले आज पर्यटकीय नगरी पोखरा स्थित सराङकोट धामको उद्‌घाटन गरेका छन् । हेलिकप्टर मार्फत काठमाण्डौबाट सिधै सराङकोट धाम पुगी उनले सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखी गणेश मूर्ति, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिङ्ग तथा जलधारा, ऐतिहासिक भूमेकालिका तथा भैरव मन्दिर सहितका धार्मिक संरचना एवम् त्यहाँ जारी श्रीमदभागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवका विधिपूर्वक पूजाअर्चना गरी उद्‌घाटन गरे।

त्यस अवसरमा राष्ट्रपति पौडेलले जीवनमा एक पटक पुग्नैपर्ने धामका रुपमा सराङकोटलाई चिनाउदै त्यहाँ निर्माण भएका संरचनाको उद्‌घाटन गर्न पाउँदा आफूलाई सुखानुभूति भएको सुनाए ।

‘पोखराको सिरान सराङकोट, महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । यसले समग्र पोखरा, गण्डकी प्रदेश तथा नेपालमै पनि पर्यटन प्रवर्द्धनमा अतुलनीय योगदान दिन्छ’ राष्ट्रपति पौडेलले भने। ‘आँखै अगाडि देखिने हिमशृङखला हेर्न मात्रै होइन, सूर्योदय र सुर्यास्त तथा पोखरालाई नजिकबाट नियाल्न पनि सराङकोट पुग्नैपर्दछ’ उनले थपे।

राष्ट्रपति पौडेलले कृषि, जलस्रोत, पर्यटन तथा पूर्वाधार राष्ट्रनिर्माणका आधार भएको चर्चा गर्दै पोखरा महानगरपालिकाद्वारा घोषित भ्रमण वर्ष २०२५ ले समग्र नेपालकै पर्यटन प्रर्वद्धनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरे । उनले युवा जनशक्ति पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको औँल्याउँदै देशमा केही भएको छैन भन्ने भाष्य चिन्नुपर्नेमा जोड समेत दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले सराङकोट धामको एकीकृत विकासमा जोड दिदै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको उल्लेख्य भूमिका रहेको स्मरण गरे। उनले पोखरेलीले पर्यटकको आतिथ्यताका लागि आर्जन गरेको ज्ञान, सीप तथा क्षमता राज्यकै लागि अनुकरणीय रहेको सुनाउदै उक्त ज्ञान, सीप तथा क्षमतालाई देशैभर विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । असल जीवनका लागि मानिसले भौतिक विकासका अलाबा आध्यात्मिक मार्गलाई पनि अनुशरण गर्नुपर्ने उनले औँल्याए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटन विकासमा गण्डकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै राष्ट्रपतिबाट सराङकोट धामको उद्‌घाटन हुनु प्रदेशकै लागि गौरवको विषय भएको स्पष्ट पारे।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सराङकोटलाई पोखरा दृष्यावलोकन स्थलको संज्ञा दिए । उहाँले पर्यटन राजधानी घोषणासँगै पोखरा थप लोकप्रिय बन्दै गएको चर्चा गर्दै त्यस यता विकास साझेदार संस्थाहरुको पनि प्राथमिकतामा पोखरा पर्दै गएको अनुभव सुनाए ।

त्यस अवसरमा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीना लगायतले सराङकोटको महत्वमाथि धारणा राखे ।

कार्यक्रमका बीच सराङकोटको स्तरउन्नतीमा महत्वपूर्ण योगदान पुर्‍याउने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भागवत् भाष्कर पण्डित कमलनयन गौतम, रियल स्टेट प्रा.लिका अध्यक्ष कालु गुरुङ, सूर्यप्रेम बहुउद्देश्यीय समाज सेवा ट्रष्ट, संस्थापक अध्यक्ष स्वः लोकबहादुर थापा, इञ्जिनियरद्वय गंगासागर प्रजापति र विश्वदिप शर्मा, हिलटेक कम्पनीका कमल जैन, गुरुयोजना निर्माण संयोजक पशुपति सुवेदी तथा अन्नपूर्ण केबलकारका महाप्रवन्धक दिनेश पौडेललाई कदर पत्रद्वारा सम्मान गरियो ।

सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । सराङकोट टपमा सडकका अलाबा पोखरा स्थित सेदीबाट अन्नपूर्ण केवलबार मार्फत पनि पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0