पोखरा । अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को पोखरा अडिसन फागुन १६ र १७ गते हुँदैछ । गण्डकी प्रदेशका सहभागीलाई समेट्ने गरि पोखराको पोखरा बहुमुखी क्याम्पसमा हुने अडिसनको तयारी पुरा भएको आयोजक इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जनाएको छ ।
विश्वभर रहेका नेपालीहरूको गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरू पहिचान गर्नका लागि यी दुवै रियालिटी शो सञ्चालन हुँदैछ । साउनको अन्तिम साता काठमाडौंमा हुने फाइनलमा दुबै शोका बिजेताहरूलाई १/१ करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ भने दोस्रो हुनेलाई २५/२५ लाख रुपैया र तेस्रो हुनेलाई १०/१० लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पोखरा अडिसनका लागि सम्पूर्ण तयारी पुरा भएको फाउण्डेसनका गण्डकी प्रदेश प्रमुख तथा गायक राजेश बर्देवाले जानकारी दिए ।
१६ गते हुने भ्वाइस अडिसन र १७ गते हुने डान्स अडिसनका लागि गण्डकी प्रदेशका सम्बन्धित संस्था, विद्यालय, क्याम्पस तथा आम जनमानसमा जानकारी तथा सूचना दिइएको बर्देवाले बताए ।नेपाली संस्कृति र सांस्कृतिक पहिचानलाई संरक्षण, सम्वर्द्धन र उत्थान गर्नु फाउण्डेसनको मूलभूत उद्देश्य रहेको फाउण्डेसनका कास्की जिल्ला प्रमुख तथा कलाकार किसान सेवाले बताए । साथै फागुन १६ र १७ गते हुने पोखरा अडिसनमा भाग लिन समेत उनले आग्रह गरे । सहभागी हुन चाहने प्रतिस्पर्धीहरूले फाउण्डेसनको वेबसाइट इन्ट्रा फाउण्डेसन डट ओआरजी बाट आवेदन दिन सक्ने किसान सेवाले जानकारी दिए ।
फाउण्डेसनका कार्यकारी निर्देशक सीएम भट्टराईले नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्नका लागि र नेपालीभाषी प्रतिभाहरूलाई चिनाउन यस्तो खालको रियालिटी शो आयोजना गरिएको बताए । नेपाली कला, संस्कृति, संस्कारजस्ता कुरालाई नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि यो रियालिटी शो ले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।
फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुडी र मुम्बईमा, र नेपालका बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरू हुनेछन् । उक्त अडिसनमा छनौट भएका भ्वाइस र डान्सका प्रतियोगीलाई प्रतिस्पर्धाका लागि काठमाडौँ लगिने आयोजकले जनाएको छ ।
सन् २०२३ मा यी दुवै रियालिटी शोको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भइसकेको छ ।
