पोखरा । बिहीबारबाट सुरु हुने एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ को तयारी पुरा भएको छ । बुकवर्म फाउन्डेसनले आयोजना गरेको बाह्रौं संस्करणको यो फेस्टिभल फागुन १८ गतेसम्म पोखराको बाराहीघाट, लेकसाइडमा सञ्चालन हुनेछ ।
फेस्टिभलको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार बिहान ११ बजे उद्घाटन गर्ने आयोजकले जानकारी दिएका छन् । उद्घाटन समारोहमा विद्वतप्रवचन प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले दिनेछन् । अनिल शाही र समुहको विशेष साङ्गीतिक प्रस्तुती तथा लोक चित्रकारको चित्रकला प्रदर्शनी समेत उद्घाटन समारोहको आकर्षणको रुपमा रहनेछ ।
फेस्टिभलमा दुईवटा कक्ष रहेकाछन् । जस अनुसार पहिलो दिन भूपी कक्षमा दिउँसो १ बजे ‘अलिअलि हार हो, अलिअलि जित’ सत्रमा अभिनेत्री मनिषा कोइराला र लेखक विजय कुमार गफिनेछन् । दिउँसो २ बजे भूपी कक्षमा ‘स्मृतिमा भूपी’ सत्रमा बसन्त थापाले कान्ति शेरचन र कविता शेरचनसँग छलफल गर्दा अलिमियाँ कक्षमा विजय तिमिल्सिनाले ‘सञ्चार संवाद’ सत्रमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रश्न सोध्नेछन् ।
भूपी कक्षमा पत्रकार भरत कोइरालाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘प्रदेशका पाइला’ सत्रमा दिउँसो ३ बजेबाट प्रदेश सरकारका बारेमा छलफल चलाउनेछन् । सोही समयमा अलिमियाँ कक्षामा ‘रैथाने ज्ञानको विज्ञान सत्रमा’ सुभास नेपाली, गीता चौधरी, सुरेश ढकालले सिता मादेम्बाको सहजिकरणमा बेलिविस्तार लगाउनेछन् ।
दिउँसो ४ बजे भूपी कक्षमा ‘राजनीतिका सुखदुःख’ सत्रमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीसँग नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले जिज्ञासा राख्नेछिन् । त्यतिबेलै अलिमिया कक्षमा प्रेस काउन्सिलका सदस्य केशवशरण लामिछानेले ‘त्यो पत्र, यो प्रेम र साहित्य’ सत्रमा भावेश भुमरी र प्रणिता चाम्लिङसँग छलफल चलाउनेछन् ।
बिहीबार ५ बजे हुने पहिलो दिनको अन्तिम सत्रमा भूपि कक्षमा नेपाली पप सम्राटको रुपमा परिचित ओम विक्रम विष्टसँग ‘संवाद एवं साङ्गीतिक प्रस्तुती’मा दर्शकले उनका कुरा सुन्दै गीतमा रम्न पाउनेछन् । यहीं समयमा अलिमिया कक्षमा ‘गण्डकीमा गुरुङ र मगर भाषा’ सत्रमा गौरी गुरुङले गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, विष्णु सिञ्जाली र जुनाकुमारी गुरुङसँग गहन छलफल गर्नेछिन् ।
यो फेस्टिभलको आयोजना सन् २०११ देखि गर्न थालिएको हो । फेस्टिभल आयोजना हुन थालेपछी नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको दावी आयोजकले गर्ने गरेका छन् । यस पटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकको भनाइ छ । अतिथिहरु पोखरा आउनेक्रम जारी रहेको छ । छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम फेस्टिभलका आकर्षण हुन् । फेस्टिभलको प्रमुख प्रस्तुतकर्ताको रुपमा एनसेल फाउन्डेसन रहेको छ ।
