पोखरा । सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक अहिले संसद्मा विचाराधीन छ । विधेयक संसद्मा जानुअघिबाटै सदनदेखि विभिन्न सङ्घसंस्थाले विधेयकमा विरोध जनाइराखेका छन् । विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजेको धेरैको दाबी छ । तर, संसद्मा विधेयक पेस गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन नभई छाडापन रोक्न विधेयक ल्याएको बताएका छन् । बिहीबारबाट पोखरामा सुरु भएको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘सञ्चार संवाद’ मा उनले असभ्यतिर जान लागेको समाजलाई रोक्न विधेयक ल्याएको प्रष्टिकरण दिए ।
उनले विधेयकप्रति जनताको बुझाइ फरक भएको दाबी गरे । पत्रकार विजयी तिमल्सिनासँगको संवादमा सरकारका प्रवक्तासमेत रहेको मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत हुने लुट, हिंसा रोक्न विधेयक आवश्यक रहेको टिप्पणी गरे । ‘यही महिना मात्रै कति मान्छे लुटिए ? विश्वास दिलायो । पैसा माग्यो या केही गर्यो । आइडियाहरू लियो । त्यो चाहिँ अन्त्य गर्नुपर्छ की पर्दैन ? राज्य छ भने सरकार छ भने लुट बन्द गर्नुपर् यो । हिंसा बन्द गर्नुपर्यो । अपराध बन्द गर्नुपर्यो,’ उनले भने ।
एआईले बायसनेस हुँदा ठूलो दुर्घटना हुन सक्नेमा सञ्चारमन्त्री गुरुङले आशंका व्यक्त गरे । समाजलाई हानिनोक्सानी पुर्याउने गतिविधिलाई नियमन गर्न कानुन बनाउन लागिएकोमा गुरुङको जोड थियो । सरकारले ल्याएको विधेयकमा डिपफेक भिडियो बनाउनेदेखि प्रसारण गर्नेसम्मलाई कारवाही हुने व्यवस्था छ । तर, सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जाल विधेयकमा दण्ड जरिवाना मात्रै नभएको बताए । उनले सामाजिक सञ्जाल सञ्चालन गर्नेहरूलाई साक्षरता अभियान चलाउने उल्लेख गरे ।
‘हाम्रो त्यहाँ खाली दण्ड जरिवानाको मात्रै कुरा छैन । सामाजिक सञ्जाल सञ्चालन गर्नेहरूलाई लिटरेसी क्याम्पेन चलाउने भनेका छौँ । उनीहरूलाई सहयोग गर्ने भनेका छौँ,’ उनले भने, ‘के–के चिज गर्नुहुन्छ के के चिज गर्नुहुन्न आईटीको, सामाजिक सञ्जालको माध्यमबाट भनेर । सबै प्रयोगकर्ताहरूलाई क्याम्पेन चलाउनुपर्यो । सरकारले सामाजिक सञ्जाललाई सघाउने भनेका छौँ । अभियान त्यो हुन्छ ।’
अभिव्यक्ति स्वतन्त्रताको विषयमा सर्वोच्च अदालतको निर्देशनात्मक फैसला नै काफी रहेको सञ्चारमन्त्री गुरुङले बताए । सर्वोच्चले कुनै पनि आईटीका माध्यमबाट सामाजिक सञ्जाल चलाइराख्दा व्यक्तिगत विवरणको गोपनीयता भङ्ग गर्ने काम रोक्न भनेको उनले उल्लेख गरे । सामाजिक सञ्जाल प्रयोगकर्ता आफै सजग र सचेत हुनुपर्नेमा मन्त्री गुरुङले जोड दिए ।
सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार गर्नेलाई प्रोत्साहन गर्ने सञ्चारमन्त्री गुरुङले बताए । तर, सामाजिक सञ्जालमार्फत अरूलाई तुच्छ गाली दिन नपाइने उनको भनाइ छ । ‘तपाईं सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार बढाउनुस् न,’ उनले भने, ‘त्यसमा सरकारले प्रोत्साहन गर्छ । तपाईंको सेवालाई सूचिकृत गर्नुस् न । सरकारले प्रोत्साहन गर्छ । व्यापार बढाउनुस् न । तर, अरुलाई हेट स्पीच किन गर्नुहुन्छ । ह्याक किन गर्नुहुन्छ ? पाइन्छ त्यो । पाइँदैन ।’ सरकार सामाजिक सञ्जाल अधिकतम प्रयोग गर्नुपर्छ भन्नेमा रहेको उनले बताए । नेपाललाई आइटी हफ बनाउनका लागि लगानीको वातावरण बनाउन अध्यादेश ल्याएको मन्त्री गुरुङको दाबी छ ।
