पोखरा । पोखरा १५, नयाँगाउँमा रहेको थ्री एन्जल्स मिसन स्कुलको आयोजनामा कास्की जिल्ला कै पहिलो क्रियाकलापमा आधारित सिकाइ मेला हुने भएको छ । ’सिक्ने र सिकाउने पद्धतिमा नयाँ आयाम’ भन्ने मूल ध्येयसहित सञ्चालित विद्यालयमा बालबालिकाहरूलाई प्रत्यक्ष क्रियाकलापमा संलग्न गराउने उद्देश्यले मेला आयोजना गरिएको अर्गानिक एजुकेसन नेपालका प्रबन्ध निर्देशक अर्जुन भट्टले जानकारी दिए । सिकाइ मेलामा क्रियाकलापमा आधारित सिकाइ प्रदर्शनी, परम्परागत प्रविधि प्रत्यक्षीकरण प्रदर्शनी, सांस्कृतिक परिकार पाक शिक्षा प्रदर्शनी तथा सांस्कृतिक क्रियाकलाप प्रदर्शनी लगायत विभिन्न सातवटा सिकाइ क्याम्प हुने निर्देशक भट्टले जानकारी दिए ।
क्रियाकलापमा आधारित सिकाइ अर्थात ’एबीएल’ कार्यक्रम थ्री एन्जल्स मिसन स्कुलमा विगत नौवर्षदेखि सञ्चालित छ । कोरोना महामारी अगाडि ३ पटक, महामारीपछि सिकाइमा आधारित एउटा क्याम्प सञ्चालन गरिएको र अहिले विद्यार्थीहरूलाई लक्षित गरेर पहिलोपटक क्रियाकलापमा आधारित सिकाइ मेला गर्न लागिएको थ्री एन्जल्स नेपालका कार्यवाहक सीईओ तथा एजुकेसन डाइरेक्टर रमेश पाण्डेले जानकारी दिए । विद्यालयमा ’एबीएल’ कार्यक्रम सञ्चालन हुन थालेपछी विद्यार्थीहरूको सिकाइमा समेत सकारात्मक परिवर्तन पाइएको सीईओ पाण्डेले बताए ।
क्रियाकलापमा आधारित सिकाइ मेलामा व्यवसायिक सीप विकास प्रदर्शनी, वाल प्रतिभा प्रदर्शनीका साथमा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समेत हुने आयोजकले जनाएको छ । कार्यक्रम आइतबार बिहान १० बजेदेखि, थ्री एन्जल्स मिसन स्कुलको प्राङ्गण नयाँ गाउँमा सुरु हुने छ ।
कार्यक्रममा अभिभावक र स्थानीय विज्ञ र स्थानीय सरकारको सिकाइ प्रक्रियामा सहभागीता हुनेछ भने शिक्षक सिकाइ सहजकर्ताको रुपमा, प्राचार्य योजनाकारको रुपमा र विद्यालय व्यवस्थापन समिति व्यवस्थापकको रुपमा रहनेछन् ।
मेलामा ७ वटा सिकाइ क्याम्पमा ६ वटा सिकाइ क्रियाकलापका दरले ४२ वटा क्रियाकलाप गरिने निर्देशक भट्टले बताए । कार्यमा आधारित सिकाइ एउटा नवीन सिकाइ विधि हो । यो विधिका सिकारुलाई सिकाइ प्रक्रियामा सक्रिय रुपमा सहभागी गराइन्छ ।
मेलाले सिकाइ वातावरण बुझ्न बुझाउन, डिजिटल साक्षरता र प्रविधि सीपहरू विकास गर्न, रचनात्मक र आलोचनात्मक सोच विकास गर्न, वित्तिय साक्षरता हासिल गर्न, पर्यावरण र दिगोपन सिकाइ गर्न, सामाजिक र भावनात्मक सिकाइ गर्न, सांस्कृतिक चेतना विकास गराउन, उद्यमशीलता र नवीन सीपको विकास गराउन, स्वास्थ्य र कल्याण शिक्षा सिक्न र सिकाउन, सहकार्य र टोली कार्यको सीपहरू विकास गर्न, धैर्यशीलता, अनुकुलनशीलता र आजीवन सिकाइ मनोविज्ञान विकास गर्न, सञ्चार र भाषा सीपहरू विकास गर्न मद्दत गर्ने आयोजकको विश्वास छ ।
मेलाकाे सम्पूर्ण तयारी पुरा भएको शनिबार पत्रकार सङ्गमेलन मार्फत आयोजकले जानकारी दिएका छन् । पत्रकार सम्मेलनकाे सहजिकरण थ्री एन्जल्स् रेडियोका सिनियर प्रस्तोता सूर्य बहादुर परियारले गरेका थिए ।
