पोखरा । नेकपा एमाले कास्कीले वडा केन्द्रित अभियानको सन्दर्भमा शुक्रबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलको प्रमुख आतिथ्यतामा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यतिबेला तथ्यभन्दा बाहिर गएर राजनीतिक दल र नेतालाई गाली गर्ने गलत काम भइरहेको बताए ।
देशको समस्या अस्थिर सरकार भएपनि तथ्य भन्दा बाहिर गएर गलत प्रचारबाजी भइरहेको बताए । एउटै दलले बहुमत नपाउनु, साना दल धेरै हुनु, समीकरण फेरिरहनु अस्थिर सरकारको कारण भएको महासचिव पोखरेलले प्रष्ट पारे । यो अवस्थाको अन्त्य गर्न आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अभियानमा जुट्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
अहिलेको सत्ता समीकरणमा एमाले इमान्दारिता साथ अघि बढेको भन्दै सरकार र संसद्लाई चलायमान बनाएर काम गरिरहेको दावी गरे । गत २०७९ सालको पोखरा महानगरपालिकाको निरर्वाचनको नतिजालाई पाठको रूपमा लिएर एकढिक्का हुन कस्केली नेता-कार्यकर्तालाई निर्देशन दिए ।
पार्टी राजनीतिका आन्तरिक असन्तुष्टि आफै भित्र नियन्त्रण गरिनुपर्ने भनाइ उनको थियो । नेता-कार्यकर्ता एकजुट नहुँदा महानगरको मेयर हार्नुपर्ने परिस्थिति बनेको महासचिव पोखरेलले औँल्याए । जसका कारण अहिले एमालेका जनप्रतिनिधिका एजेन्डालाई स्थापित गर्न समस्या भएको र केही कर्मचारीलाई निकाल्ने काम भएको भन्दै उनले हारबाट पाठ सिक्नुपर्ने बताए । अनेक समस्याबीचमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कास्कीले राम्रो नतिजा दिएकोमा भने उनले खुसी व्यक्त गरे ।
एमाले र काङ्ग्रेसबीच सरकार सञ्चालनमा सहकार्य भएपनि आगामी निर्वाचनमा अलग–अलग लड्ने उनले प्रष्ट पारे । आगामी चुनाव एक्लै लड्ने विषय बुझेर तयारीमा जुट्न कास्कीका नेता–कार्यकर्तालाई महासचिव पोखरेलले निर्देशन समेत दिए ।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेलाई निर्णायक शक्ति बनाउनका लागि पार्टी भित्रको आन्तरिक समस्यालाई समाधान गर्नुपर्ने बताए । पार्टीको आन्तरिक जीवनमा एकता नभएको उनको दावी थियो । वैचारिक एकता सङ्गठनात्मक एकता भावनात्मक एकता कार्यशैलीगत एकता आजको आवश्यकता रहेको उनको भनाइ छ । उनले पार्टीको प्रदेश, जिल्ला, पालिका, कमिटीमा भन्दापनि केन्द्रमै समस्या रहेको वार्षिक कार्ययोजना लागू नभएको भन्दै त्यसको बारेमा समीक्षा गर्नुपर्ने बताए ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले देशभित्र अस्थिरता चाहने तत्वहरु अहिले अत्तालिएको बताए । त्यसैको परिणाम स्वरुरुप संसदमा अवरोध गर्ने अध्यादेश पास गर्न नदिने र आफूले पहिले हस्ताक्षर गरेका विषयलाई समेत सच्याउछौ भन्दै हिडिरहेको उनको भनाई थियो । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले गरेका कामको पर्याप्त प्रचार प्रसार गर्दै आगामी चुनावमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सबै एक भएर जुट्नुपर्ने बताए ।
नेकपा एमाले कास्कीका अध्यक्ष वैन बहादुर अधिकरी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले सचिव तथा पूर्व मन्त्री पद्मा अर्याल, एमाले केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापा, एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, एमाले कास्की उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा लगायतले बोलेका थिए । यो सँगै कास्कीमा वडा केन्द्रित अभियान सुरु भएको छ । यो अभियान बैशाखसम्म चल्ने कास्की अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
