पोखरा । पोखरा ३ नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण मावि अन्तर्गत कक्षा ११ र १२ मा रहेका विद्यार्थीहरूद्वारा गठित सोसल सर्भिस क्लबले शैक्षिक तथा खेलकुद सामग्री बितरण गरेको छ । बुधबार कास्कीको मादी गाउँपालिका–५ ठुलास्वाँरामा रहेको बिद्याज्योति आधारभूत विद्यालयका २९ जना विद्यार्थीहरूका लागि स्कुलमै पुगेर शैक्षिक सामग्री बितरण गरिएको हो
उक्त शैक्षिक सामग्री विद्यार्थीहरू तथा शिक्षकहरूको आर्थिक सहयोग मार्फत खरिद गरी बितरण गरिएको क्लबका सचिव दृष्य गुरुङले जानकारी दिइन् ।कार्यक्रममा बोल्दै मादी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष होमनाथ अधिकारीले सोसल सर्भिस क्लबले गरेको सहयोगले विद्यालयका विद्यार्थीलाई शैक्षिक क्षेत्रमा सहयोग पुग्ने बताए । सहयोगले समाजसेवाको भावनालाई उजागर गरेको उनको भनाई थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम गुरुङले विद्यालयको आर्थिक स्रोत निकै कमजोर भएको अवस्थामा क्लबले गरेको सहयोगले पठनपाठनमा सहयोग हुने बताए । विद्यालयका प्रधानध्यापक महेन्द्र पौडेलले क्लबको प्रशंसा गदै विद्यार्थीले देखाएको सामाजिक काम प्रतिको भावनाले सामाजिक सेवामा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
माउन्ट अन्नपूर्ण माविका प्रोमोटर तथा प्रशासक चित्र गुरुङले विद्यालयमा गठन गरिएको क्लब समाज सेवा गर्ने क्लब भएको बताए । उनले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्रै सीमित नगरी अन्य समाज सेवाका गतिविधिहरूमा समेत लाग्न विद्यार्थीलाई आग्रह गरे ।
क्लबका अध्यक्ष प्रथम श्रेष्ठले विद्यालयका शिक्षकहरूको प्रेरणाबाट क्लब गठन भएको बताउँदै क्लबले समाज र शिक्षाको क्षेत्रमा काम गदै जाने योजना बनाएको सुनाए । कार्यक्रममा माउन्ट अन्नपूर्ण माविका लेखा प्रमुख नवराज पौडेल, विद्यालयका सहायक प्रधानध्यापक कृष्ण कुमारी अधिकारी, क्बलका उपाध्यक्ष मिलन श्रेष्ठ लगायत क्लबका सबै सदस्यका साथै विद्यालयका विद्यार्थीहरू र अभिभावक लगायतको सहभागिता रहेको थियो ।
