पोखरा । गण्डकी प्रदेशमा महिला तथा बालबालिकामाझमा हुने हिंसा चुनौतीका रूपमा रहेको पाइएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको प्रतिवेदनमा महिला तथा बालबालिकामाझमा हुने हिंसा अझै गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गरेको हो ।
गण्डकी प्रदेश प्रमुख शिव खकुरेलका अनुसार गण्डकी प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा सङ्ख्यात्मक रूपमा केही कमी आए पनि महिला तथा बालबालिकामाथिको हिंसा भने अझै उच्च रहेको छ । इन्सेकको अभिलेखअनुसार सन् २०२४ मा अन्य पक्षबाट ४२९ महिला र ७५ पुरुष गरी ५०४ जना पीडित भएका छन् । घरेलु हिंसामा २१७ जना महिला, बलात्कारमा ४५ महिला, बलात्कारपछि हत्यामा १ जना तथा साइबर अपराधमा २ जना महिला पीडित भएका छन् ।
सन् २०२४ मा राज्य पक्षबाट कुनै मानव अधिकार उल्लङ्घन नभए पनि अन्य पक्षबाट ५०४ जना पीडित भएका छन् । इन्सेक गत वर्र्ष २०२३ मा राज्य पक्षबाट ५ जना पुरुष र अन्य पक्षबाट ५ सय ४८ जना महिला र ६३ जना पुरुष गरि जम्मा ६ सय १६ जना पीडित भएका थिए । गत वर्षको तुलनामा यस वर्ष समग्र घटनामा ११२ जनाले कमी आएको हो ।
बालअधिकार उल्लङ्घनका घटनामा भने वृद्धि देखिएको छ । खकुरेलका अनुसार यो वर्ष बाल अधिकार उलङ्घनमा १ सय ३१ जना पीडित भएका छन् । गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी घटनाहरू कास्कीमा दर्ता भएका छन् । सबैभन्दा कम घटना मनाङमा दर्ता भएका छन्, जहाँ १ जना महिला बलात्कारको घटनामा पीडित भएकी छन् ।महिला तथा बालबालिकाविरूद्ध हिंसाका घटनामा प्रहरी प्रशासनमै मिलापत्र गराउने प्रवृत्ति कायमै रहेको खकुरेलले बताए ।
प्रदेश सरकारले हिंसा पीडित महिलाहरूका लागि सुरक्षित गृह निर्माण गरे पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेको खकुरेलले जानकारी दिए । इन्सेकले सन् १९९२ देखि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ । यस वर्षको प्रकाशनमा वातावरण अधिकारलाई प्राथमिकताका साथ समेटिएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रमुख नितु गर्तौला, पत्रकार महासङ्घ गण्डकी महासचिव जमुना शर्मा वर्षा, इन्सेक प्रतिनिधि सञ्जय रानाभाट लगायतले बोलेका थिए ।
