पोखरा । पोखरा महानगरपालिका वडा नं.७ को प्रतिभा मार्ग र वडा नं. ८ सुगम मार्ग जोड्ने फिर्के खोलामाथि कल्भट सहितको पक्की पुल शिलान्यास गरिएको छ । पुलको सोमबार पोखरा ७ का वडाअध्यक्ष राममोहन आचार्य र वडा नं. ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले संयुक्त रुपमा शिलान्यास गरे । 

कुल १७ लाख ८९ हजार ७० रुपैयाँ ८९ पैसाको लागतमा पुल निर्माण सुरु गरिएको वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले जानकारी दिए । पुल निर्माणका लागी दुईवटा वडाका अध्यक्षहरूको पहलमा गत वर्ष २० लाख बजेट विनियोजन भएको थियो तर त्यो पर्याप्त नभएपछि यो वर्ष २५ लाख बजेट विनियोजन गरेर पुल शिलान्यास गरिएको अध्यक्ष बरालको भनाई छ । पुलका लागी  २५ लाख लागत इस्टमेट गरिएपनि लागत इस्टमेट गरिएभन्दा करिब २७ प्रतिशत घटाएर काम सुरु भएको हो ।

सोमबारदेखि निर्माण सुरु भएको पुल आगामी चैत्र १५ गतेभित्र निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ । वि.सं. २०५४/५५ मा निर्माण भएको उक्त पुल जीर्ण भएको थियो । पक्की पुल निर्माण भएपछि दुवै वडाका बासिन्दालाई सहज हुने अपेक्षा गरिएको छ । पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले दुई वडामध्ये ७ ले बनाउने की ८ ले बनाउने भन्ने अन्योलका कारण पनि पुल निर्माणमा ढिलाई भएको उल्लेख गरे । पुल निर्माण भएपछि फिर्केखोला करिडोर खोल्नका लागी महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अध्यक्ष आचार्यले दुवै वडाका बासिन्दा, स्थानीय टोल विकास संस्था र आमा समुहलाई पुलको निगरानी गर्न आग्रह गरेका छन् ।

स्थानीय विष्णुहरि बरालले सवारी साधनसँगै स्थानीयलाई आवतजावत गर्न र पानीको बहाव थेग्न सक्ने खालको पुल बन्नेमा आशावादी रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0