पोखरा । त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रङ्गशालमा भएको तेस्रो क्वार्टरफाइनलमा साविक विजेता समेत रहेको विभागीय टोली आर्मीलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज अन्तिम चारमा पुग्न सफल भएको हो । चर्च ब्वाइजलाई जित दिलाउन २५ औँ मिनेटमा रोहन कार्कीको ठाउँमा मैदान प्रवेश गरेका राज भुसालले ९० औं मिनेटमा निर्णायक गोल गरे ।
नवीन लामाले प्रहार गरेको कर्नर किकबाट आएको बललाई राजले हल्का हेडरमार्फत पोस्टको दिशा दिँदै गोल गर्न सफल बने । यो सँगै चर्च ब्वाइजले गत संस्करणको सेमिफाइनलमा आर्मीसँग व्यहोरेको हारको बदला समेत लिएको छ । अब चर्च ब्वाइजले फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा माघ ३० गते अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गरेको थियो भने बाई पाएर सिधै क्वाटरफाइनल खेलेको आर्मी भने पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । प्रतियोगिता अन्तर्गतको अन्तिम क्वार्टरफाइनल खेलमा मङ्गलबार भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले प्रतिष्पर्धा गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
तस्बिर : सुदर्शन रञ्जित
