पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले देशलाई लुट्न, बिचौलियालाई फाइदा पुराउन, भ्रष्टाचारलाई प्रोत्साहन गर्न अध्यादेश ल्याएको आरोप लगाएका छन् । पार्टीको गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिवार पोखरामा उद्‌घाटन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेपालले  ६ अध्यादेशमार्फत ३० वटा कानुनको संसोधन गर्न खोजेर सरकारले देश लुट्न खोजेको आरोप लगाएका हुन् । सरकार गठनका बेला संविधान संसोधन गर्ने भनिए पनि २०८७ मा संविधान संसोधन हुन्छ भनेर प्रधानमन्त्री केपी ओलीको पछिल्लो वक्तव्यले संविधान संसोधन गर्ने उद्देश्य नरहेको स्पष्ट पारेको नेपालले बताए ।

वर्तमान सरकार कसरी आफ्नो वर्चस्व कायम राख्ने भन्नेतर्फ मात्रै केन्द्रित रहेको अध्यक्ष नेपालको भनाई छ । उनले यदी साँच्चै नै नेपाल र नेपाली जनताप्रति चिन्ता छ भने शासकहरूले आफ्नो भूमिकालाई शसक्त बनाउनुपर्नेमा जोड दिए । उनले सरकारले देखाइरहेको रवैयाले शासकहरूको लोकप्रियता गुम्दै गइरहेको बताउँदै आफ्नो पार्टीका कार्यकर्तालाई त्यसप्रकारको रवैया र गलत प्रवृत्तिबाट टाढा रहन आग्रह गरे ।

शनिबारदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशको प्रथम अधिवेशनमा आइतबार नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।  अधिवेशन उद्‌घाटन समारोहमा नेकपा एसका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, प्रदेश सह-इन्चार्ज दिल कुमारी पन्त, केन्द्रिय सदस्य तथा पोखरा महानगरका मेयर धनराज आचार्य लगायतले बोलेका थिए । अधिवेशनमा ११ वटै जिल्लाका करिब ६ सय प्रतिनिधि सहभागी भएका छन् ।  ११ जिल्लाबाट ४५० जना, आयोजक, जनसङ्गठनको प्रदेश कमिटीबाट प्रतिनिधि सहभागी भएका छन् । उद्घाटन समारोहको अध्यक्षता पार्टीका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0