पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेकपा एमालेलाई गत निर्वाचनमा जनताले समानुपातिक मत दिएर समानुपातिक तर्फ पहिलो पार्टी बनाएपनि त्यसमा चित्त बुझाएर बस्न नहुने बताएका छन् । शनिबार निजामती कर्मचारी सङ्गठन गण्डकी प्रदेशको दोस्रो अधिवेशनको उद्‌घाटन गर्दै उनले गत निर्वाचनमा एमालेको ५ लाख भोट घटेको बताए । मत ३२ लाखबाट २७ लाखमा झरेकोले चित्त बुझाउने कुरा मात्र गरेर नहुने उनको भनाइ छ । उपनिर्वाचनमा नयाँ ठाउँको आएपनि पुरानो ठाउँको गुमाउनु परेको उनले बताए । नयाँ ढङ्गले समीक्षा गरेर जानका लागि एमालेमा जरा अभियान सुरु गरिएको उनले खुलाए । ‘हामी सुध्रन्छौ, हामी तपाईंकोमा आयौँ’ भनेर जरा अभियान मार्फत हरेक जनताको घरदैलोमा पुगिने उनले बताए । यस्तो परिस्थितिमा पनि केपी ओली प्रधानमन्त्री बन्नु चानेचुने विषय नभएको उनको दावी थियो ।

गण्डकी प्रदेशको पूर्व मुख्यमन्त्री समेत रहेका अधिकारीले जनतालाई सुशासन, सर्भिस डेलिभरी र काम चुस्त दुरुस्त गरेर सेवाग्राहीको मन जित्ने काम निजामती कर्मचारी सङ्गठनका व्यक्तिले गर्ने विश्वास व्यक्त गरे । अहिले सहकारी प्रकरणमा विभिन्न पार्टी सहित एमालेका समेत परेको भन्दै निजामती कर्मचारी सङ्गठनमा आवद्ध व्यक्तिमा दाग देखिन नहुने स्पष्ट पारे ।

नेपाल निजामती कर्मचारी सङ्गठन गण्डकीका अध्यक्ष डोलराज पोखरेलको अध्यक्षतामा भएको उद्‌घाटन सत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय उपमहासचिव राम चन्द्र अधिकारी, कृष्ण बहादुर केसी, पेशागत महासङ्घ राष्ट्रिय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज रामप्रसाद खनाल, नेपाल निजामती कर्मचारी सङ्गठन गण्डकीका निवर्तमान अध्यक्ष अशोक खनाल, उपाध्यक्ष राम प्रसाद उपाध्याय, महासचिव रामचन्द्र पहारी, सचिव पुष्प खनाल लगायतले बोलेका थिए । कार्यक्रममा सङ्गठनमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान समेत गरियो ।  

यसैबीच नेपाल निजामती कर्मचारी सङ्गठन गण्डकी प्रदेशको अधिवेशनले डोलराज पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार पोखरामा भएको अधिवेशनबाट उपाध्यक्षमा अमरबहादुर पराजुली र महिला उपाध्यक्षमा सरस्वतीदेवी सिग्देल चयन भएका छन्। महासचिवको जिम्मेवारी विष्णुदेवी पोखरेलले पाउँदा सचिवमा पुष्प खनाल, पराश्वर शर्मा र श्यामकुमार थापा मगर र कोषाध्यक्षमा गणेशबहादुर कार्की निर्वाचित भएका छन् ।

सदस्यहरूमा ख्यामकुमारी राना, रिता पौडेल शर्मा, विष्णु पौडेल पोखरेल पूर्णबहादुर भोलान, विराज विश्वकर्मा, सुनिल थापा, धनबहादुर कुँवर, देवेन्द्र गौतम , भोलानाथ आचार्य, रोशन लामिछाने, शोभाकान्त पोखरेल, मदन सुवेदी, प्रविण भण्डारी चयन भए । कार्यसमितिसँगै लेखा परीक्षण आयोग पनि गठन गरिएको छ । जसको संयोजकमा रुद्रसिंह ठकुरी र सदस्यमा अम्विकाप्रसाद गौतम र सुदीप पुन चयन भएका छन् । नयाँ कार्यसमितिले निजामती कर्मचारीहरूको हकहित संरक्षण, समस्या समाधान, र संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0