पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ६ पटकको विजेता नेपाल पुलिस क्लबले पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा ब्रिगेड ब्वाइज क्लब यूकेलाई २–० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

पुलिसले दुवै गोल पहिलो हाफमा कर्नरमार्फत गरेको हो । खेलको २८औं मिनेटमा विवेक पाण्डेले कर्नरमार्फत गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ४०औं मिनेटमा विवेककै कर्नरमा पुलिसका कप्तान राम वाजीले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए । उनले कर्नरमार्फत आएको बललाई हेडमार्फत गोलको दिशा दिएका थिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल २–० ले पुलिस खेल आफ्नो पक्षमा पार्‍यो । खेलमा पुलिसका राम वाजी प्लेयर अफ दि म्याच समेत हुन सफल भए।

पुलिसले यसअघि प्रिक्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई १–० ले पराजित गरेको थियो । पुलिसले अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र चर्च ब्बाइज युनाइटेड क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको दोस्रो क्वार्टरफाइलन थ्रीस्टार क्लब र मच्छिन्द्र फुटबल क्लबबीचको खेल आइतबार हुनेछ ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ३ वटा विदेशीसहित १२ वटा टोली रहेका छन् । पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ ।

तस्बिर : सुदर्शन रञ्जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0