पोखरा । नयाँ पुस्तालाई लक्षित गरेर पोखरामा आयोजना गरिएको लोपोन्मुख नाचहरूको प्रदर्शन भव्य रुपमा सम्पन्न भएको छ । तरेली सांस्कृतिक परिवारको आयोजनामा माघ १९ गतेबाट सुरु भएको प्रदर्शन माघ २५ गतेसम्म गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा सञ्चालन भएको थियो।
मौलिक संस्कृतिको जगेर्ना र विकासको लागि आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा महानगरपालिकाले सहकार्य गरेका थिए। गण्डकी प्रदेशमा रहेका जातिहरूले विगतमा अपनाउँदै आएका आफ्ना संस्कृतिहरू अहिले लोप हुने अवस्थामा छन् । तीनै लोप हुन लागेको संस्कृतिको बारेमा गण्डकी प्रज्ञा प्रतिष्ठान मार्फत अनुसन्धान गरिएको थियो । सोही अनुसन्धानका माध्यमबाट आएका नृत्य प्रदर्शन गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले बताए । संस्कृतिसँग पर्यटन मिसाउदै पर्यटकको आकर्षण बढाउन समेत खोजिएको उनको भनाइ छ ।
सबैको साथ सपोर्टका कारण कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सकिएको तरेली सांस्कृतिक परिवारका अध्यक्ष राज बहादुर गुरुङको भनाइ छ । ५० भन्दा बढी कलाकारले यो कार्यक्रम मार्फत नृत्य प्रदर्शन गरे । विद्यार्थी लक्षित कार्यक्रममा धेरै विद्यालय सहभागी बनेर सघाएको अध्यक्ष गुरुङले बताए । विभिन्न समुदायका १३, १४ वटा नाँचको तयारी गरेर प्रदर्शन गरिएको उनले जनाए ।
तरेली सांस्कृतिक परिवारका कोषाध्यक्ष माया गुरुङले गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातिको लोप भएर जान लागेका नाचहरू प्रदर्शन गरिएको बताइन्। कृष्ण चरित्र, कौरा, जिउमामा, टाकटुके, सोरठी, तरबार नाँच लगायतका नाँच नयाँ पुस्तालाई जानकारी गराउने हेतुले कार्यक्रम गरिएको उनको भनाइ छ । चार महिना देखि तयारी गरेर कार्यक्रम गरिएको उनले बताइन् ।
