पोखरा । आज पोखरामा हुने ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमलाई लिएर व्याण्डहरुले आफूहरु उत्साहित रहेको बताएका छन् । ब्याण्डका भोकलिष्टहरूले नब्बेको दशकमा व्याण्डहरूको राजधानी बनेको पोखराको साङ्गीतिक विरासत फर्काउन कार्यक्रम कोशेढुङगा सावित हुने बताएका हुन् । कन्दरा व्याण्डका विवेक श्रेष्ठले नब्बेको दशक व्याण्डहरूको स्वर्णिम काल रहेको बताए । उनले भने,‘त्यहि स्वर्णिम काल फर्काउन यो कार्यक्रम कोशेढुङगा सावित हुनेछ ।’ त्यसबेला उदाएका आफूहरू अहिलेपनि निरन्तर कला र सङ्गीतको क्षेत्रमा लागिपरेको उनको भनाई छ । कार्यक्रममा कन्दराले तगारोमा रुमाल राखी, तिमी पारी र लेककी हे माया गीतहरू गुञ्जाउनेछ ।
माध्याह्न व्याण्डका कर्ण दासले कलाकारिताको माध्यमबाट देश र समाजका लागि योगदान दिने प्रयास आज पर्यन्त गरिरहेको बताए । हामी बिचमा अल्मलिएका मात्रै हौं,उनले भने,‘तर कलाकारिता नै छाडेर हिँडेका छैनौँ । निरन्तर अहिलेपनि त्यसैका लागि मरिमेटेर लागिरहेका छौँ । नब्बेको दशकमा उदाएर कालजयी गीत पस्केको माध्याह्नले शनिबार आफ्नो चर्चित गीतहरू जिन्दगीको के भरोसा र मन मनै मन पराई सकेछु गीत प्रस्तुत गर्नेछ ।
डि–मर्चा व्याण्डका भाष्करध्वज श्रेष्ठले व्याण्डहरुको राजधानीको विरासत फकाएरै छाड्ने बताए । हामी हिजोपनि यसैका लागि लाग्यौं,उनले भने,‘आजपनि गीत, संगीतकै लागि लागिरहेका छौं । हाम्रो जीवन नै यसैका लागि समर्पित भएकाले यसपटक त्यो विरासत फर्काउनेगरी गरिन लागेको कार्यक्रमका लागि हामी तयार छौं ।’ डि–मर्चाले झ्याम्म झ्याम्म, कैलाशैमा, झ्याम्मै चौतारी र तारा खस्यौली गीत प्रस्तुत गर्नेछन् ।
पोखरा साङ्गीतिक कलाकार संघ नेपालका अध्यक्ष तथा लेकाली व्याण्डका हर्कराज गुरुङ (भाई) र नवीन गुरुङले आफूहरू कार्यक्रममा प्रस्तुती दिन आतुर रहेको बताए । हामी सबै हिसाबबाट तयार छौं, आशा छ हामीलाई सुन्न पोखरेली दर्शकहरुपनि आतुर हुनुहुन्छ ।’ लेकालीले कार्यक्रममा यो मुटुमा, सपनीमा, कहाँबाट र पहिलो नजर गीत गुञ्जाउनेछ ।
ब्रोसिस व्याण्डका प्रकाश रानाले व्याण्डका अन्य सदस्य नहुँदा नया सिर्जनामा कमी आएपनि आफूले संगीत सिर्जना नछाडेको बताए । यो कार्यक्रमले हामीलाई उत्साह भर्नेछ,उनले भने,‘र नया गीत सिर्जनामा लाग्न थप बल पुग्नेछ ।’ ब्रोसिसका गीतहरू चाईना कम्पनी र जादु तिम्रो नजरले गुञ्जनेछन् ।
देउराली व्याण्डका शान्तराज बज्राचार्यले नयाँ पुस्तालाई आकर्षित गर्नपनि यो कार्यक्रम कोशेढुङगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने,‘पुराना हामी अगाडि बढ्यौं भने अहिलेका नयाँ पुस्तापनि आकर्षित हुन्छन् । त्यसका लागि यो कार्यक्रम कोशेढुङगा सावित हुनेछ ।’ कार्यक्रममा देउरालीले ढुंगा साँघुको मेलामा, लुकीचोरी र सररर हावा गीतहरू प्रस्तुत गर्नेछ ।
भेगाबोण्ड व्याण्डका श्यामसुङ तामाङले व्याण्डहरुमा पुर्नजागरण ल्याउन कार्यक्रम सफल हुने बताए । विरासत फर्काउने कुरा चानचुने कुरा होईन,उनले भने,‘यसले पर्यटन प्रवद्र्धनमापनि भूमिका खेल्छ ।’ भेगाबोण्डले यो जिन्दगानी र उकाली चढी गीतहरू प्रस्तुत गर्नेछ ।
पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा भोलि यो कार्यक्रम गर्न लागेको हो । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष आतिथ्यतामा हुने कार्यक्रम भोलि शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म हुने जनाईएको छ ।
