पोखरा । आगामी बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरामा आयोजना हुने तय भएको ऐतिहासिक “श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२” भएरै छाड्ने संकल्पकर्ता धर्मगुरु विजय कृष्णमूर्तिले बताएका छन् । आइतबार पोखरामा मानव सेवा फाउण्डेसनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लेकसाइडमा प्रत्येक दिन २५ हजार भक्तजन ल्याउने तयारीका साथ कोटिहोम गर्न लागिएको खुलाएका छन् । यसरी भक्तजन आउँदा होटलहरू भरिभराउ हुने र बजार चलायमान हुने अपेक्षा उनले गरे । पोखरामा मात्र नभएर गण्डकी प्रदेशमा धार्मिक पर्यटकको वृद्धि गर्नको लागि यज्ञ गर्न लागिएको बताएका उनले यसमा कुनै स्वार्थ नभएको दावी गरे ।
पछिल्लो क्रममा पोखरा महानगरपालिकाले लेकसाइडमा महायज्ञ गर्न नदिने बताइरहेको बेला उनले कुनै पनि हालतमा गरेरै छाड्ने बताए। यो यज्ञ जस्तो सुकै परिस्थिति आएपनि कसैले रोकेर नरोकिने भन्दै यज्ञ नगरी नफर्कने उद्घोष उनले गरे । जुन ठाउँमा, जुन मितिमा, जुन किसिमले हुने हो त्यो भन्दा विराट हुनसक्ने तर कमी भने नहुने बताए । यसको लागि जस्तोसुकै मूल्य चुकाउन पनि तयार भएको बताएका उनले विगतमा पनि ज्यान हत्केलामा राखेर हिँडेको सुनाए । उनले धर्मको लागि अधर्म गर्नु पर्छ भने पनि तयार भएको अभिव्यक्त्ति समेत दिए ।
यज्ञको सबैभन्दा पहिला पोखरा महानगरपालिकाले दाउरा दिएको धर्मगुरु विजय कृष्णमूर्तिको दावी छ । उनले पोखरा नयाँबजारमा रहेको दमकल भन्ने ठाउँबाट सबैभन्दा पहिला दाउरा ल्याइएको पत्रकार सम्मेलनमा बताए । मानव सेवा फाउण्डेसन फेदबाटै रूख काट्ने काममा संलग्न नभएको भन्दै अहिले देखाउने गरिएका ठुटा रूख पहिल्यै मुठारिएको दावी उनले गरे । पोखरा १३ मा पहिल्यै काटेर राखेका दाउरा १० हजारमा किनेर ल्याएको भौचर समेत रहेको बताए । फोन गरेर बोलाएरै महानगर र वडाहरूबाट दाउरा ल्याइएको उनले खुलाए ।
धर्मगुरु विजय कृष्णमूर्तिले यो धर्म जागरण अभियान भएको र एकताको सन्देश दिनको लागि यज्ञको आयोजना गरिएको जिकिर गरे । यज्ञबाट पैसा उठाउने कुनै लक्ष्य नभएको र आर्थिक अपेक्षा नगरिएको उनको भनाइ छ । स्वइच्छाले दिएको स्वीकार गरेपनि माग्दै नहिँड्ने उनले बताए ।
नेपाली नयाँवर्ष २०८२ तथा पोखरा महानगरपालिकाले घोषणा गर्न लागेको पोखरा भ्रमण वर्ष २०२५ को पावन नेपाल ट्रष्टको मातहतमा रहेको बाराहीघाट क्षेत्रको जग्गामा महायज्ञ गर्न लागिएको हो । पोखरा १, सिमपानी स्थित कैलाश धाम शिवमणि मन्दिर तथा पोखरा ६, बैदाम स्थित मुक्तेशवर शिव मन्दिर मुक्तीधामको सर्वाङ्गिण विकास संगसंगै गण्डकी प्रदेशका विपन्न अभिभावक विहीन बालबालिका तथा असहाय ज्येष्ठ नागरिकहरुको पालन, संरक्षण आदि सहयोगार्थ महायज्ञ आयोजना गरिएको फाउण्डेसनको दावी छ ।
यता पोखरा महानगरपालिका कार्यालयले महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको जनाएको छ । सुरक्षा संवेदनसिलतालाई मध्यनजर गरी महानगरपालिकाले सो अनुमति तत्काल रद्ध गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय गरेको हो । यस्तै रूख कटान कार्यमा संलग्न व्यक्ति वा संस्थालाई प्रचलित कानुन बमोजिम अविलम्ब कारबाही गर्न डिभिजन बन कार्यालय कास्कीलाई समेत पत्र पठाउने निर्णय महानगरले गरेको जनाएको छ ।
