काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् परिकल्पनाका साथ निरोगी नेपाल अभियान सञ्चालन गरिएकाले यस अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताए। 

उनले नेपालीलाई रोग र अभावबाट मुक्त बनाउन सकभर कोही बिरामी नहोऊन् र बिरामी भइहालेमा सहज र गुणस्तरीयरुपमा उपचारको प्रबन्ध होस् भनेर सरकारले आफ्ना तर्फबाट प्रयास गरिरहेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले निरोगी नेपालको केन्द्रबिन्दुमा मानव जाति रहेकाले स्वच्छ र सन्तुलित खाना खाएर स्वस्थ रहन सबैमा आग्रह गरे। उनले उच्चमनोबल र साझा प्रयासबाट कोभिड–१९ को महामारीलाई पनि परास्त गरिएकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप लगाउने अधिकारबाट तोकिएका समूहका कोही पनि किशोरीहरू वञ्चित नहुन् भन्ने कामना गरे ।

आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन भएको छ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0