पोखरा । २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै मच्छिन्द्र क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा बुधबार भएको दोस्रो प्रि-क्वार्टरफाइनलमा मच्छिन्द्रले एपीएफलाई २–० गोलले पराजित गरेको हो । पहिलो हाफ दुवैतर्फ गोल हुन नसके पनि दोस्रो हाफमा २ गोल गर्दै मच्छिन्द्रले जित हासिल गरेको हो । मच्छिन्द्रका आदित्य शाक्यले खेलको ७४ औँ मिनेट र स्टेफेन कामहाले ८१ औँ मिनेटमा गोल गरेका थिए ।

अब मच्छिन्द्रले क्वार्टरफाइनलमा आउँदो आइतबार माघ २७ गते थ्री स्टार क्लबसँग खेल्नेछ । प्रतियोगिताको तेस्रो प्रि-क्वार्टरफाइनलमा बिहीबार न्युरोड टिम एनआरटी क्लब र चर्च ब्वाइज युनाइटेड खेल्नेछन् । यो खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।

माघ २२ देखि शुरु भएको प्रतियोगितामा ३ वटा विदेशीसहित १२ वटा टोली सहभागी छन् । आहा रारा पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

तस्बिर : सुदर्शन रञ्जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0