पोखरा । २४ औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब आमन्त्रित आहा–रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता मङ्गलवार देखी सुरु भएको छ । प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । पुलिसलेले आयोजक सहारा क्लबलाई १–० ले पराजित गरेको हो ।
खेलको ३७ औं मिनेटमा उज्वल राईले हानेको कर्नर सिधै गोल भएको थियो । सोही बल नै निर्णायक बन्न पुग्यो । उज्वलले माथि उठाएर हानेको कर्नर प्रहार सहाराका गोलकिपर सन्तोष महतले रोक्ने अवसर पाएनन् ।
यो जितसँगै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुलिसले अब सेमिफाइनल प्रवेशका लागि ब्रिगेड ब्वाइज क्लब युकेसँग २६ माघमा खेल्नेछ । प्रतियोगितामा भोलि बुधबार एपीएफ एफसी र मछिन्द्र एफसीबीच खेल हुनेछ ।
प्रतियोगितामा ३ विदेशी सहित १२ टिम सहभागी छन् । फागुन ३ मा हुने फाइनल विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
यसैबीच सहारा क्लबले यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठलाई प्रदान गरेको छ । सनिशलाई ५० हजार ५ सय ५५ रुपैयाँसहित नगर प्रमुख आचार्यले सम्मान अर्पण गरे । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन् ।
सहारा क्लबको आयोजनामा २०५८ मा पहिलोपल्ट क्याराभान कपबाट सुरु भएको यो प्रतियोगिता हाल आएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचित हुन पुगेको छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि हो भने प्रमुख संरक्षकमा पोखरा महानगरपालिका रहेको छ ।
तस्बिर : सुदर्शन रञ्जित
