पोखरा । कास्कीको रूपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समुहलाई २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ ।
सामुदायिक वन दिवसको अवसरमा ठुलो वन समुहद्वारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले सो घोषणा गरेका हुन्। गाउँपालिकामा ५६ वटा सामुदायिक वन उपभोक्ता समुह रहेका छन् ।
वन क्षेत्रमा आगो लगाउँदा जैविक विविधता, वन्य जन्तु सहित वातावरणीय असर पर्ने हुँदा त्यस्तो आपराधिक काम रोक्नका लागि गाविसले यसै आर्थिक वर्षबाट पुरस्कृत गर्ने जानकारी दिदैँ उनले भने “डढेलोबाट वन जोगाउन सामूहिक प्रोत्साहनस्वरुप पुरस्कृत गरिने भएको हो ।”
“सामुदायिक वनको प्रभावकारिता, तीन तहको सरकार र समुदायको सहभागिता” भन्ने मुख्य नाराका साथ जिल्ला महासङ्घ कास्कीको आयोजना एवम् डिभिजन वन कार्यालय कास्की र युएसएआइडी जल जङ्गलको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा अशोका, धुपी, तेजपात, अमला लगायत विभिन्न जातका ४० वटा बिरुवा रोपिएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता मालले रोपिएका बिरुवाको संरक्षण गर्दै प्राकृतिक श्रोतलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिइन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले वनको संरक्षण, संवर्द्धन र विकासमा योगदान गर्दै आएका उपभोक्ताले वनको सहजरूपमा उपयोग गर्दै आम्दानीको श्रोतको रुपमा विकास गरिनु अपरिहार्य भएको बताए।
डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेले सामुदायिक वन क्षेत्रमा रहेका पुराना रूख निकाल्न उपभोक्तालाई सुझाव दिँदै त्यसका लागि कार्यालयकोतर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
ठूलोवन समुहका अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदी, जिल्ला महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले वन दिवसको महत्व माथि प्रकाश पारेका थिए ।