लेखनाथ । खेलकुदको क्षेत्रबाट अगाडि बढेको पोखरा महानगरपालिका वडा नं -२९ को भण्डारढिकमा रहेको आदर्श युवा क्लबको १३ औं अधिवेशनले आगामी कार्यकालका लागि पदम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरको छ ।
अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत गर्ने प्रयास भए पनि वर्तमान अध्यक्ष पदम गुरुङ र उपाध्यक्ष प्रशान्त सुनारबीच भएको निर्वाचन प्रक्रियामा गुरुङ पुन: अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
यता अन्य पदका लागि भने सर्वसम्मत भएको छ जसको उपाध्यक्षमा ओम प्रकाश गुरुङ, सचिवमा सन्तोष गुरुङ, सह सचिवमा उद्धव गिरी र कोषाध्यक्षमा विष्णु हमाल रहेका छन् भने समितिको सदस्यहरूमा राजीव भण्डारी, ओम प्रसाद कुमाल, कर्ण बहादुर गुरुङ, सञ्जिव पौडेल, कृष्ण कुमाल र विनोद गुरुङ रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले संस्थाका गतिविधिलाई चलायमान गराउँदै समाज सुधारका लागि अझै वढी सक्रियता देखाउनु पर्नेमा जोड दिएका थिए ।
साथै उनले युवाहरू विदेश पलायन भइरहेको वर्तमान अवस्थामा उनीहरूलाई नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन क्लबहरुको विशेष भूमिका रहने बताए ।
क्लबका संस्थापक अध्यक्ष समेत रहेका निवर्तमान वडाअध्यक्ष चेत बहादुर गुरुङले वि स २०४५ साल देखि फुटबल खेललाई प्राथामिकता दिदैँ आएको र क्लबले विगतमा विविध क्षेत्रमा उल्लेखनीय कार्य गरेको स्मरण गराएका थिए ।
क्लबका उपाध्यक्ष लक्ष्मण सुनारले स्वागत गरेको कार्यक्रममा दीपशिखा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी, भुपु सैनिक क्लबका अध्यक्ष मेजर रामप्रसाद गुरुङ, लेखनाथ उद्योग वाणिज्य सङ्घका उप महासचिव भरतराज ओझा र निर्वाचन संयोजक मदन तिवारी लगायतले क्लबले गरेका युवा लक्षित कार्यहरूको चर्चा गरेका थिए ।
क्लबका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ओमप्रकाश गुरुङले गरेका थिए ।