पोखरा । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय परिचयपत्रको महत्व धेरै भएको बताएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट राष्ट्रिय परिचयपत्र प्राप्त गरेपछि प्रतिक्रिया दिँदै उनले यो ‘सुपर सिटिजनसिप’ भएको बताए । यसबाट मल्टिपल काम गर्न सकिने मात्र नभएर भरपर्दो समेत रहेको दावी उनको थियो । सबै विवरण यस मार्फत एकीकृत गर्ने भएकोले सजिलो तथा भरपर्दो हुने उनको विश्वास थियो । सामाजिक सुरक्षा भत्ताहरू नागरिकताको माध्यमबाट वितरण गर्दा चोरी चकारी भएको भन्दै उनले अब विस्तारै राष्ट्रिय परिचय पत्रको आधारमा प्रदान गरिने बताए । सरकारले हालै ल्याएको अध्यादेशमा यसलाई मुख्य आधार मान्ने कुरा समावेश गरिएको उनको भनाइ थियो । सुशासनको लागि समेत यो महत्वपूर्ण रहेको उनले खुलाए ।

मन्त्री गुरुङले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेबाट राष्ट्रिय परिचयपत्र लिएका हुन् । प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्ला प्रशासन कार्यालय कास्कीबाट सहज तरिकाले राष्ट्रिय परिचयपत्र वितरण गर्नका लागि गरिएका प्रयासका बारेमा मन्त्री गुरुङलाई अवगत गराएका थिए । उनले कास्की जिल्लामा हालसम्म दुई लाख सात सय १६ वटा राष्ट्रिय परिचयपत्र प्रिन्ट भएर आएकोमा ७५ हजार सात सय १८ जनालाई वितरण गरिएको खुलाए । यसको लागि कास्कीका चारवटा गाउँपालिकामा पहिलो चरणको अभियान सम्पन्न गरिएको र पोखरा महानगरपालिकाका धेरै वडामा परिचय पत्र वितरणको काम सकिएको, केहीमा चलिरहेको र केहीमा चल्ने क्रममा रहेको खुलाए ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा ४ वटा फोटो खिच्ने ठाउँ र एकवटा परिचय वितरण गर्ने ठाउँ बनाएर सेवा प्रदान गरिरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले खुलाए । हाल सरदरमा २ सय जना फोटो खिच्नका लागि र १ सय ५० जना राष्ट्रिय परिचय पत्र लिनको लागि कार्यालयमा आउने गरेको उनको भनाइ थियो । नागरिकता लगायतमा देखिएको दोहोरोपनाको समस्यालाई हल गर्न समेत यसले सघाएको उनले खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0