पोखरा । वडा प्रहरी कार्यालय बैदामले घर घरमा नेपाल प्रहरी अभियान सुरु गरेको छ । वडामा कुनै शङ्कास्पद गतिविधि देखेमा वा थाहा भएमा प्रहरीलाई जानकारी गराएर शान्ति सुरक्षा कायम राख्न सघाउने उद्देश्यका साथ यो अभियान सुरु भएको हो । अभियानको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले सोमबार पोखरा ६ लेकसाइड बाराहीघाटमा आयोजना गरिएको कार्यक्रम मार्फत औपचारिक रुपमा सुरुवात गरे।

कार्यक्रममा बोल्दै कास्की प्रहरी प्रमुख ओलियाले टोल टोलमा गस्ती गर्ने अभियान अन्तरगत अझ एक पाइला अगाडि रहेर घर घरमा पुगेर नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि यो अभियान सुरु गरिएको बताए । यसरी प्रहरी जाँदा नागरिकलाई परेका समस्याहरू बुझ्ने मात्र नभएर उनीहरूले प्रहरीसँग गरेका अपेक्षाबारे समेत सोध्ने उनले खुलाए । सुख दुःखमा प्रहरी साथमा छ भन्ने सन्देश दिनका लागि स्टिकर अभियान सुरु गरिएको उनको भनाइ थियो । यो कार्यक्रमले शान्ति सुरक्षा अमन चयन कायम गर्ने क्रममा एक स्टेप अगाडि बढेको अनुभूति भएको उनले सुनाए ।

अभियानबाट तीनवटा अपेक्षा गरिएको छ । नागरिक र प्रहरीबीचको दूरीलाई कम गर्न सहयोग गर्ने, नागरिक र प्रहरीबीचको सम्मानलाई अभिवृद्धि गर्ने / नागरिक र प्रहरीबीचको सहकार्यलाई यसले बढाउने अपेक्षा रहेको उनले खुलाए । घर-घरमा पुगेर स्टिकर अभियान मार्फत गरिएका अन्तरक्रिया र संवादबाट शान्ति सुरक्षा कायम गर्ने क्रममा थप सहयोग गर्ने विश्वास कास्की प्रहरी प्रमुख ओलियाले गरे । बैदामबाट सुरु भएको प्रहरीको यो अभियान कास्की जिल्लाभरी नै क्रमश लागू गरिने उनको भनाइ छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले यो कार्यक्रमबाट २०७८ सालको जनगणना अनुसार ४९ हजार ९ सय ४५ घर धुरीमा पुग्ने विश्वास आफूले लिएको बताए । यो कार्यक्रम लिएर प्रहरी घरघरमा पुग्दा तयार गरिएको स्टिकर घरमा टाँसिनेछ । जनताका समस्या के छन् भन्ने कुराहरूलाई टिप्ने तथा घर धुरी सङ्ख्या र घर मूलिको विवरण सङ्कलन गरिनेछ । जनतासँग प्रत्यक्ष समस्याहरू के छन् भन्ने कुरा समेत टिप्ने र ती समस्याको समाधान गर्न पहल गर्ने र सम्बन्धित निकायमा पठाउन पहल गर्ने कार्यक्रम तय भएको उनले खुलाए । पोखरा पर्यटकीय राजधानी समेत रहेकोले यो अभियानलाई प्रविधि मैत्री बनाउन स्टिकरमा क्यु आर राखेका राखिएको र क्यु आर स्क्यानिङ गरेर स्थानीयका अलावा पोखरा घुम्न आएका पर्यटकले समेत सूचना दिन सक्ने उनको भनाइ थियो ।

पोखरा महानगरपालिका वडा नं.६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुली, पोखरेली ट्याक्सी सेवा प्रालि अध्यक्ष शोभाकान्त पौडेल, रेवान पोखराका उपाध्यक्ष बसन्त गौतम, लेकसाइड मदिरा व्यवसायी समितिका अध्यक्ष रवशन देवकोटा, महिला सञ्जाल पोखरा ६ का अध्यक्ष बबिता मल्ल, होटल प्रतिनिधि समाजका अध्यक्ष माधव बास्तोला लगायतले अभियानलाई साथ सपोर्ट गर्ने प्रतिवद्धता जनाए । होटल प्रतिनिधि समाजको विशेष सहयोग तथा व्यवस्थापनमा कार्यक्रम भएको हो । बैदाम प्रहरीको कार्यक्षेत्र अन्तरगत पोखराका ११ वटा वडा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0