पोखरा । शनिबारबाट सुरु हुने एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि हेल्प नेपाल स्पोर्टस् क्लबले एक अमेरिकनसहित ३ विदेशी खेलाडी भित्राएको छ । स्पोर्टस् क्लबले अमेरिकन प्लेयर जचारी तारो मायर र पाकिस्तानी खेलाडी मोहम्मद कसिफ नभिद र आइमल खानलाई टोलीमा अनुबन्ध गरेको क्लबका महासचिव अरुण श्रेष्ठले जानकारी दिए । टाइगर कप खेल्न तीन वटै खेलाडी नेपाल आइसकेको श्रेष्ठले बताए ।
नभिद र खान यसअघि पनि हेल्प नेपालबाट खेलिसकेका छन् भने मायर पहिलोपटक हेल्प नेपालबाट खेल्न नेपाल आएका हुन् । टाइगर कपमा हेल्प नेपालको कप्तानी टोपबहादुर थापाले गर्नेछन् । टोलीको उपकप्तानको रुपमा धिरज बस्नेत रहनेछन् ।
यसबाहेक टोलीमा विष्णु बस्नेत, चिरञ्जीवी खड्का, सुरेन्द्रबहादुर बम, चित्रबहादुर केसी, मनिष मानन्धर, विष्णुबहादुर क्षेत्री र सुवास कुँवर छन् । टोलीको प्रशिक्षकको रुपमा उत्सव खड्का रहनेछन् । हेल्प नेपाल अघिल्लो संस्करणको विजेता टोली हो ।
माघ १९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा दुई विदेशीसहित १२ टोली सहभागिता जनाएका छन् । प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
