पोखरा । माघेसङ्क्रान्तिको अवसरमा पोखराको ढुङ्गेसाँघुमा मङ्गलबार ऐतिहासिक मेला आयोजना भएको छ । दिनभर सेती नदिमा स्नान गर्ने, सदाशिवजि सिद्धेश्वर हरिहर मन्दिरमा पुजा गर्ने र कुटो, कोदालो, मान्द्रो, हसिँया नाङ्लो, भाँडाकुँडा, लत्ताकपडा किन्नेको आवत जावत भइरहेको थियो । विगतका वर्षमा भन्दा दर्शकको सङ्ख्या केही घटेको देखिएपनि विना प्रचार–प्रसार वर्षेनी आयोजना हुँदै आएको यो मेलाको महत्व बेग्लै हुने गर्दछ ।

भगवान राम र सिताले माघेसङ्क्रान्तिको दिनमा त्यहाँ बसेर खाजा खाएको धार्मिक विश्वास रहेकोले सखर, चिउरा, तरुल खानेगरी मेलाको आयोजना गर्न थालिएको किम्वदन्ती छ । मेलाको आकर्षणमा घरायसी सामानको बिक्री, मन्दिरको दर्शन र खेलकुद प्रतियोगिता रहेको थियो ।

पहिला–पहिला लगातार तीन(चार दिनसम्म मेला लाग्ने गरेपनि मेलामा विकृति देखिएकोले पछिल्ला समयमा मेला एक दिन मात्र आयोजना गर्न थालिएको हो । पोखराको वडा नं। १५ र १७ लाई जोड्ने ढुङ्गाको पुल त्यस ठाउँमा रहेकोले त्यसलाई ढुङ्गेसाँघु भन्ने गरिएको जानकारहरू बताउँछन् ।

पोखरा महानगरपालिकाले माघेसङ्क्रान्तिको अवसर पारेर आयोजना हुने ढुङ्गेसाँघुको मेलामा कन्दमूलहरूको प्रदर्शनी समेत गरेको थियो । कास्की सहित छिमेकी जिल्लाबाट समेत किसानहरू आउने भएकोले के के लगाउन सकिन्छ भनेर बागवानी अनुसन्धान केन्द्र मालेपाटनसँगको साझेदारीमा जानकारी समेत दिने उद्देश्यले प्रदर्शनी गरिएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । नेपाल सरकारले माघ १ गतेलाई जैविक विविधता दिवस समेत घोषणा गरेकोले यही अवसर समेत पारेर लोप हुन लागेका स्थानीय र पुराना हराइसकेका तरकारी फलफूल अन्न लगायतलाई एकै ठाउँमा राखेर प्रदर्शनी गरिएको उनले खुलाए ।

आर्थिक विकास महाशाखा प्रमुख कडरियाले हराइसकेका वस्तुहरूलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न जरुरी भएको कारणले महोत्सवमा प्रदर्शनी गर्नुपरेको खुलाए । जहाँबाट किसानका उत्पादनको प्रदर्शनी मात्र नभएर उनीहरूबीचमा प्रतिष्पर्धा गराएर उत्कृष्टलाई पुरस्कृत समेत गरिने उनको भनाई थियो ।

मेलामा सदाशिवजि सिद्धेश्वर हरिहर मन्दिर समितिले भजन प्रतियोगिता समेत आयोजना गरेको थियो । समितिका अध्यक्ष नगेन्द्र भण्डारीको अध्यक्षतामा भएको भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं। १७ की वडाध्यक्ष राधिका शाही योगी सहितका जनप्रतिनिधि उपस्थित रहेका थिए । भजन प्रतियोगिताको निर्णायक संयोजकमा संगीतकर्मी तथा प्रशिक्षक नवराज बरालले रहेका थिए । मेलाकै अवसरमा करातेप्रतियोगिता समेत आयोजना भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0