पोखरा । पोखरा १५ कार्यालयको आयोजनामा बुधबारदेखि वडा खेलकुद महोत्सव सुरु भएको छ । माघ ६ गतेसम्म पाँच दिन चल्ने खेलकुद महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य एक समारोहबीच उद्‌घाटन गरे । उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै उनले वडा नम्बर १५ ले सबैले खेल्नुपर्छ भनेर उत्साहका साथ विभिन्न खेलमा सहभागी गरेको भन्दै प्रशंसा गरे । प्रतियोगितालाई सक्रियताका साथ खेल कौशल प्रदर्शन गर्न उनको आग्रह थियो । खेलकुदले समाजलाई एकतावद्ध बनाउने उनले बताए ।

महानगरप्रमुख आचार्यले खेलकुदलाई विद्यालय देखिनै महत्व दिएको बताए । ३९ वर्षपछि पोखरामा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट प्रतिष्पर्धा गरेका खेलाडी मध्ये विजयी भएका अधिकांश खेलाडी पोखरा महानगरपालिकाका भएको दावी गरे । अब छिट्टै विद्यालय स्तरको खेल आयोजना हुन लागेको बताएका उनले पोखरा १५ ले विद्यालय स्तरको प्रतियोगितालाई समेत समावेश गर्नु महत्वपूर्ण हुने सुनाए । केही दिनमा पोखरा भम्रण वर्ष २०२५ को औपचारिक घोषणा गरिने समेत उनले जनाए ।

खेल महोत्सवमा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकस्सी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुनेछ । वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल सङ्ख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ ।

महोत्सवमा आयोजित खेलहरू वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न सङ्घसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुने वडा सचिव युवराज पौडेलले जानकारी दिए ।

महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीले यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभालाई पहिचान गरेर अगाडि बढ्न सघाउने बताए । विद्यालयस्तरीय साइक्लिङ, युनी हक्की लगायतका केही खेल महानगरस्तरीय समेत सञ्चालन गर्न लागिएको खुलाए ।

महोत्सव सफल बनाउन वडा स्थित विभिन्न सङ्घसंस्थाले पनि सहयोगी हात अघि बढाएका छन् । बालबालिकाको क्षेत्रमा कार्यरत ‘राइट फर चिल्ड्रेन’ ले संस्थागत सहयोग गरेको छ । वडाध्यक्ष तोरणबहादुर बानियाँको अध्यक्षतामा भएको उद्‌घाटन सत्र कार्यक्रमको सञ्चालन वडा सचिव युवराज पौडेलले गरेका थिए । औपचारिक कार्यक्रम अगाडि वडा कार्यालयबाट बन क्याम्पससम्म झाँकी तथा र्‍याली निकालिएको थियो । कार्यक्रममा सांस्कृतिक प्रस्तुती र योगाको डेमोष्ट्रेसन प्रस्तुत समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0