पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा बुधवार देखि विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । कुल १४ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको पहिलो दिन माघ २ गते बाल कल्याण बोर्डिङ स्कुल, कालिका माध्यामिक विद्यालय, सेन्ट मेरिज स्कुल, अमरसिंह माध्यामिक विद्यालय(बि) बीच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी माघ ३ गते कास्की मोडनाइज्ड स्कुल, हार्वड ई. बोर्डिङ स्कुल र ज्ञान गङ्गा बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा रहने छ । माघ ४ गते बेसलाइन ई. बोडिङ स्कुल, पोखरा युनाइटेड एकेडेमी र अमरसिंह मावि (ए) बीच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ५ गते सरस्वती ई. बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी ई. बोर्डिङ स्कुल, विभूति शिक्षा सदन र प्यारामाउन्ट पब्लिक स्कुल बीच प्रतिस्पर्धा रहने छ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ४५ हजार, शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र तृतीय हुनेले नगद २० हजार शिल्ड र प्रमाण पत्र र सान्त्वना स्थान हासिल गर्ने दुई वटा टिमले जनही नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा महोत्सवको छैटौँ दिन दर्शकको उल्लेख्य सहभागिता रहेको छ । माघ १ गते छैटौँ दिन महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा मङ्गलबार चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, चोलेन्द्र पौडेल, पार्वती जिसी, तुलसा क्षेत्री, सन्तोष सुवेदी, निश्चल थापा मगर, पुजा गुरुङ, गङ्गा पौडेल, आयुषजंग कार्कीको प्रस्तुती सँगै पोखरेली माग्नेबुढा र धुर्मुसको हाँंस्यव्यङ्ग्य प्रस्तुती मार्फत दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिएभने साँझको लाइभ कन्सर्टमा चर्चित र्यापर लाहुरेको प्रस्तुतीमा युवाहरू झुमेका थिए ।
महोत्सवको सातौँ दिन लोकदोहोरी तर्फ अस्मिता अधिकारी, चोलेन्द्र पौडेल, तारापति सुवेदी, तुलसा क्षेत्री, ज्योति लोहनी, बसन्ती थापा मगर, कमला सुनार, परशुराम अधिकारी र राजेन्द्र गिरी (गुन्द्रुके)को हास्यव्यङ्ग्य प्रस्तुती रहने छ । साँझको लाइभ ब्याण्ड तर्फ सुगम पोखरेल एण्ड बाजागाजाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
