पोखरा । राष्ट्रिय योग दिवस २०८१ पोखरामा मनाइएको छ । दिवसको अवसरमा ूस्वस्थ्य समाज, समृद्ध नेपाल र विश्‍वशान्तिको लागि योगू भन्ने नाराका साथ मङ्गलबार योग शिविर आयोजना गरिएको थियो । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखा र व्यवसाय प्रवर्द्धन केन्द्रको संयुक्त्त आयोजनमा पोखरा सभागृह हलमा आयोजना भएको शिविरमा योग प्रशिक्षक प्रदिप क्षेत्री र ममता अधिकारीले प्रशिक्षण गराएका थिए ।

योग प्रशिक्षण तालिमको मुख्य प्रशिक्षक योगाचार्य प्रदिप क्षेत्रीले योगको महत्व बढ्दै गइरहेको बताए । मानिस भौतिक रुपमा जति सम्पन्न हुँदै गयो मानसिक रुपमा त्यति नै अशान्त बन्दै गइरहेको अवस्थाले गर्दा विश्वभर मानसिक रोगको अवस्था दिनानुदिन बढ्दै गइरहेको भन्दै शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक विषयलाई सम्बोधन गर्न सक्ने विषय योग भएको बताए । सोही कारण योग आज विश्वव्यापी भएको उनको भनाइ थियो ।

योग शिविरको संयोजक समेत रहेका पोखरा महानगरपालिकाको आयुर्वेद शाखामा कार्यरत प्रशिक्षक क्षेत्रीले पछिल्ला दिनमा योगप्रति मानिसको जागरुकता र सचेतना बढेको बताए । राष्ट्रिय दिवस मनाउनाले समेत यसको महत्वलाई बढाउन सहयोग पुर्‍याएको उनको भनाइ थियो ।

अर्का प्रशिक्षक ममता अधिकारीले योग भनेको आफू भित्रको आत्म चिन्तनलाई अभ्यास गरेर जीवनको उद्देश्य पूर्ति गर्नू भएको बताइन् । आसन, प्रणायाम, ध्यान भनेको केही जटिल कुरा भएपनि योग भनेको जीवन जिउने क्रममा पालना गर्नुपर्ने एउटा नियम भएको बताइन् । साधारण चिन्तन लिएर समेत योग गर्न सकिने उनको भनाइ थियो ।

प्रशिक्षक अधिकारीले योगलाई जीवनयापनको रुपमा लिनुपर्नेमा जोड दिइन् । नेपाल योग भूमि भनेर विश्वमा परिचित भएपनि हामीले योगको यथार्थ बुझ्न नसकेको उनको जिकिर थियो । योग गर्न उमेरले नछेक्ने भन्दै बालबालिका देखि युवा वृद्ध सबैले गर्न सक्ने भन्दै यो जीवन जिउने कला भएको उनले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले योग शताब्दी अघि देखी नै सुरु भएको बताए । हरेक व्यक्तिले योग अपनाउनुपर्ने उनको भनाई थियो । बढ्दो प्रविधिको प्रयोग गर्ने समयमा योगलाई जीवनपद्धति बनाउनुपर्ने उनले औंल्याए । योगमा प्रशिक्षकको सङ्ख्या धेरै भएपनि उत्कृष्ट प्रशिक्षकको कमी नै रहेको उनको भनाई थियो।

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एमका डिस्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले शारीरिक र मानसिक रुपले स्वास्थ्य रहन योग महत्वपूर्ण माध्यम भएको धारणा राखे ।

कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, व्यवसाय प्रवर्द्धन केन्द्र प्रमुख नवराज अघधिकारी, भुमिका बराल लगायतले योगको बारेमा बोलेका थिए ।

माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ भने विश्व योग दिवस जुन २१ का दिन मनाउने चलन छ । २०७२ साउन २८ गतेको बैठकले मन्त्रिपरिषद्को माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष माघ १ गते विभिन्न कार्यक्रम गरेर राष्ट्रिय योग दिवस मनाइने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0