पोखरा । द एशिया फाउन्डेसनको– स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तरगत आपसी सहयोग केन्द्र नेपालको आयोजनामा २ दिने गण्डकी प्रदेशमा जलवायु समीक्षा कार्यशाला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशमा जलवायु परिवर्तन अनुकुलन र विपद् व्यवस्थापनको वर्तमान अवस्था, नीतिगत व्यवस्था र भावी कार्ययोजना सहितको समीक्षा एवं क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालाको उद्घाटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवलाल पौडेलले उद्घाटन गरेका थिए ।
विगतदेखि गण्डकी प्रदेशमा भूक्षय, पहिरो, बाढी, खडेरी, भूकम्प र चट्याङ/हुरी जस्ता प्राकृतिक प्रकोपबाट प्रत्यक्ष प्रभावित हुँदै गएको सन्दर्भमा प्रदेश स्तरमा यस प्रकारको छलफलले प्रदेशलाई जलवायु अनुकुलमैत्री प्रदेश निर्माणका लागि योजना तर्जुमा गर्न सहयोग पुग्ने सचिव जीवलाल पौडेलले बताए ।
प्रदेशमा जलस्रोत, कृषि, स्वास्थ्य लगायतका सबैजसो क्षेत्रमा जलवायु परिवर्तनको जोखिम उच्च रहेकोले न्यूनीकरणका लागि सफ्टवेयर सँगसँगै अनुकुलनका लागि हार्डवेयर मोडलमा समेत काम गर्न दाताहरूलाई अनुरोध गर्दै यस समीक्षाले जलवायु परिवर्तनको असर बुझेर जलवायुमैत्री विकासका लागि नागरिकलाई सुसूचित गर्न, जलवायु सम्बन्धी काम हेर्न फोकल युनिटको व्यवस्था साथै जलवायु सम्बन्धी कामका लागि एकद्वार प्रणाली स्थापना र गण्डकी प्रदेश अन्तरगतका प्रदेशहरू बीचमा समन्वयकारी भूमिका बढाउन सहयोग पुग्ने बताए ।
कार्यशाला उद्घाटनको अवसरमा आस्क नेपालका अध्यक्ष रुकुमदत्त शर्मा, द एशिया फाउन्डेसनका गण्डकी प्रदेश संयोजक पूर्ण परियार, सहजकर्ता श्रीकृष्ण चौधरी, हरीप्रसाद ढकाल, मेघनाथ पौडेल लगायतले यस प्रकारको गतिविधिले गण्डकी प्रदेश स्तरमा जलवायु सचेतना बृद्धि र प्रसारमा निकै टेवा पुग्ने र जोखिममा पर्नसक्ने नागरिकको जीवन रक्षाको लागि टेवा पुर्याउने राय व्यक्त गरेका थिए ।
