लेखनाथ। कास्कीको लेखनाथमा विहीवार देखि २०औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको उद्‌घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गरेका छन् ।

‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा राखिएको भगवान गौतम बुद्धको मुर्ती अगाडि विश्व शान्तिको कामना गर्दै राखिएको दीप प्रज्वलन गर्दै मुख्यमन्त्री पाण्डेले मेला महोत्सवलाई पर्यटन र स्थानीय उत्पादनसँग जोड्नुपर्ने बताएका हुन् । उनले स्थानीय क्षेत्रको आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताउँदै यस क्षेत्रको पर्यटनलाई पनि सँगै जोडेर लानुपर्नेमा जोड दिएका थिए ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएकाले यसको विकासका लागी स्थल र हवाई कनेक्टिभिटी विकास हुनुपर्ने बताएका थिए ।

यस क्षेत्रमा निर्माणधीन सडकहरू आगामी एक वर्ष भित्रमा सम्पन्न भइसक्ने त्यस पछि सडक मार्गबाट आवत जावत गर्न कुनै असुविधा नहुने बताउँदै पोखराबाट अन्तराष्ट्रिय उडानका लागि सबै तहमा लबिङ भएको जानकारी गराएका थिए । साथै मुख्यमन्त्री पाण्डेले विदेशी वस्तु ल्याउने र बेचेर मात्र हाम्रो आर्थिक अवस्थामा सुधार नआउने भएकाले अव हामी उत्पादन तर्फ लाग्नु पर्छ उनको सुझाव थियो ।

सोही अवसरमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले निजी क्षेत्रबाट सञ्चालन गरिएका यस प्रकारका मेला तथा महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउदै युवाहरूले स्वदेशमा नै केही गर्न सकिने सन्देश दिन सकिने बताए । साथै उनले सानो पुँजीले पनि केही गर्न सकिन्छ भन्ने भावनाले अगाडि बढ्ने हो भने राज्यको तर्फबाट पनि सहयोग हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस प्रकारका मेला तथा महोत्सवले स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने देखि आफ्नो ठाउँको पहिचान गराउन सहयोग पुगेको र कवि शिरोमणि लेखनाथको नामबाट परिचत यस क्षेत्रको विकासका लागि साझा अवधारणको खाँचो औँल्याएका थिए ।

सोही अवसरमा आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य सङ्घले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २० संस्करणसम्म आइपुग्दा चुनौतीका बावजुत पनि अवसरका रुपमा महोत्सव गर्दै आएको र महोत्सवले यस क्षेत्रको पहिचान, यहाँ उत्पादित वस्तुहरूको बजारीकरण र पर्यटन विकासमा सहयोग पुगेको विश्वास दिलाएका थिए ।

महोत्सव उद्‌घाटन समारोहमा गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले बैक तथा वित्तिय क्षेत्रमा देखिएको तरलतालाई लगानीको क्षेत्रमा बढवा दिनका लागि राज्यले लगानीमैत्री वातावरण सृजना गर्ने कार्ययोजना ल्याउन लागेको बताए । राष्ट्रिय वाणिज्य बैकका उप कार्यकारी अधिकृत विमल ढंगोलले महोत्सवले लिएको नाराले आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा सहयोग पुग्ने धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तारा बहादुर कार्की, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमित श्रेष्ठ,नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विश्व प्रकास लामिछाने,झाँकी र्‍याली ब्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी थापा मगर र सङ्घका उप महासचिव भरतराज ओझा लगाएतले आ-आफ्नो भनाई राखेका थिए ।

सङ्घका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुली अधिकारी र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

माघ १ गते सम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवर्द्धनका लागि तिन सय ३६ वटा स्टलहरु रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0